मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्लान् त बाबुराम ?

फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्लान् त बाबुराम ?

प्रतिस्पर्धामा पूर्वसहकर्मीदेखि चक्रे मिलनसम्म


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा/आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले गोर्खा २ बाट ‘चक्रे मिलन’ उर्फ मिलन गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

२०७९ सालको चुनावमा तत्कालीन माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी) का सुप्रिमो प्रचण्डललाई आफ्नो निर्वाचन क्षेत्र अर्थात् गोर्खा २ छाडेर वाहवाही बटुलेका डा. बाबुराम भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक छन् । जेन–जी आन्दोलनपछि युवाहरुलाई अगाडि बढाउने भन्दै पार्टी नेतृत्व छाडेका उनी चुनावमा पनि युवाहरु नै अगाडि सर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, उनले मन बदलेका छन् । उनले उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा गोर्खा २ बाट नै चुनाव लड्ने घोषणामात्र गरेका छैनन्, किन भन्ने प्रश्नको उत्तर पनि दिएका छन् ।

उनले उम्मेदवारी दिनुको लक्ष्य÷आधार भन्दै सामाजिक सञ्जालमा ५ वटा आधार पेश गरेका छन् । तीमध्ये एक नम्बरमै उनले भनेका छन्,‘बदलिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न ।’

त्यस्तै उनले देशमा नयाँ र पुराना राजनीतिक दलहरूबीच र दलहरूभित्रको बढ्दो द्वन्द्व,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका निर्वाह गर्दै लोकतन्त्रको रक्षामा योगदान गर्न, संविधानमा आवश्यक संशोधन र सुधारको अगुवाइ गर्न,देशको तीब्र आर्थिक–सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका निम्ति पनि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।

कार्ययोजना निर्माण र कार्यान्वयन गर्नको लागि सरकारको नेतृत्व गर्नुपर्छ । बाबुरामले घुमाउरो पारामा आफू पुनः प्रधानमन्त्री बन्ने अभियानमा रहेको कुरा पनि सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

गोर्खा २ बाबुरामको जन्मथलो हो । त्यो क्षेत्रमा उनको पकड पनि छ । २०७४ सालको चुनावमा उनले तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई सो क्षेत्रबाट पराजीत गरेका थिए ।नयाँशक्ति नेपालका संयोजक डा. भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी रहेका श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए । २०७९ को चुनावमा चाहिँ प्रचण्ड बाबुरामकै समर्थनमा सो क्षेत्रबाट उम्मेदवार बने । कांग्रेसको र नेकपा एकीकृत समाजवादीकोसमेत समर्थन रहँदा प्रचण्डले २६ हजार १ सय १ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ तथा नेकपा एमालेका अब्दुस सलाम मियाँले ७ हजार ३१२ मत ल्याएका थिए ।

अन्तिम समयमा बाबुराम नै मैदानमा उत्रिएको सो क्षेत्रमा एमालेले चक्रे मिलनको नामबाट चर्चित मिलन गुरुङलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट बाबुरामकै चेला लेखनाथ न्यौपाने मैदानमा उत्रिएका छन् भने विप्लव माओवादीको तर्फबाट गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ पनि मैदानमा छन् । कांग्रेसले सो क्षेत्रबाट को उम्मेदवार हुने घोषणा गरेको छैन । रास्वपाबाट सो क्षेत्रमा कविन्द्र बुर्लाकोटी मैदानमा उत्रिने भएका छन् । पूर्वमाओवादीहरुबीच नै प्रतिस्पर्धा हुँदा सो क्षेत्रमा एमालेले उम्मेदवार बनाएका चक्रे मिलनको चर्चा चाहिँ झन चुलिएको छ ।

गोर्खाको सिरानचोक गाउँपालिका ५,छोप्राकमा जन्मिएका मिलन जब काठमाडौं खाल्डोमा छिरे तब उनीसँग चक्रपथ जोडियो । चक्रपथमा वरपरका बालुवा खानीको कमिसन लिन थालेसँगै लाहुरेका छोरा मिलन आपराधिक जगतमा छिरे । धम्क्याउने,थर्काउनले र त्यतिले नपुगे सांघातिक आक्रमणमा उत्रने उपक्रममा उनी पटक–पटक पक्राउ पनि परे । त्यो उपक्रममा उनले साथी पनि बनाए,दुस्मन पनि कमाए । दुस्मनमध्येका एक थिए–उपल्लो मनाङबाट काठमाडौं आएर त्यस्तै साम्राज्य बनाउँदै गरेका दीपक मनाङे उर्फ राजीव गुरुङ । राजीव गुरुङ समूह त्यो बेला काठमाडौंमा शक्तिशाली थियो । २०६१ सालको वैशाख ३१ गतेको दिन थियो, चक्रे समूहसहित महाराजगञ्जको चुफाङ चाइनिज रेष्टुरेण्टमा खाइपिइ गर्दै थिए । उनीमाथि अन्धाधुन्ध आक्रमण भयो । घाँटीमा गरिएको प्रहार रोक्ने क्रममा उनको दाइने हात नै छिनालियो । धन्न,उनी छिनेको हात बोकेर शिक्षण अस्पताल पुगे । डाक्टरले हात जोडिदिए तर आफू पक्राउ पर्ने डरले उनी त्यहाँबाट सुइँकुच्चा ठोके ।

दीपक मनाङे समूहबाट नै चक्रेमाथि आक्रमण भएको किटानीसहित उनकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा जाहेरी दिइन् । प्रहरीले मनाङेसहितका व्यक्तिमाथि ज्यान माने उद्योगमा मुद्दा चलायो । उता मनाङे पक्राउ परिसकेका थिए भने सो मुद्दामा जिल्ला अदाल काठमाडौंले सामान्य कुटपीट भन्दै फैसला गरिदियो ।आरोपित अहिले कांग्रेस नेता गणेश लामाहरुले भने सफाइ पाए । जिल्ला अदालतको फैसला आउँदा २२ महिना जेल बसिसकेका मनाङे थप दुई महिना जेलमा बसेर २०६३ माघ २८ गते कारागार मुक्त भए । मनाङे र चक्रेको दुस्मनी चाहिँ अन्त्य भएन । समय क्रममा यी दुवैले राजनीतिक संरक्षण खोजे । मनाङेले कांग्रेस रोजे भने चक्रे तत्कालीन एमाले नेता प्रदीप नेपालसँग नजिकिए ।

एमालेले बाटो देखाएका के थियो ? मनाङेले राजनीतिमा छलाङ मारे । २०७४ सालमा मनाङको प्रदेशतर्फको ‘ख’ बाट सभासद बने । झण्डै फिल्मी शैलीमा प्रदेशका महत्वपूर्ण मन्त्री पद नै पड्काए। ६ पटक मन्त्री भएर नयाँ रेकर्ड कायम गरे ।उनलाईं मन्त्री बनाउने काम पनि नेकपा एमालेबाटै भयो । तत्कालीन नेकपा फुटेपछि विवादास्पद छविका उनलाई सबैभन्दा पहिला गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई मन्त्रीको शपथ २०७८ वैशाख १६ गते युवा तथा खेलकुदमन्त्री बनाएका थिए । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चामा ठूलो विग्रह आउँदा र त्यसका सांसद कृष्ण थापा कारबाहीमा पर्ने घटनाक्रमसम्म आइपुग्दा पृथ्वीसुब्बा हट्ने निश्चित भयो । तर, पृथ्वीसुब्बा सदनको ठूलो दलको हैसियतले पुन ः २०७९ को वैशाख २९ गते मुख्यमन्त्री बने । मनाङे मन्त्रीमा दोहोरिए ।

विश्वासको मत लिने बेलासम्म भने बाठा मनाङेले मन फेरिसकेका थिए। उनी एकाएक कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पक्षमा उभिए। एक महिनापछि अर्थात् जेठ २९ गते बिनाविभागीय मन्त्री बने । कृष्णचन्द्र पदमा रहुन्जेल उनी युवा तथा खेलकुद मन्त्री रहे ।२०७९ को चुनाव त उनको लागि झन् सजिलो बनिदियो । मनाङ ‘ख’लाई कांग्रेस र एमालेले ठाउँ नै खाली छाडिदिए । एमालका खगराज नेतृत्वको सरकार ढलेपछि चाहिँ उनलाई कांग्रेसका सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाए । मनाङेले जेठ २८ गतेचाहिँ एमाले नेता खगराज अधिकारीलाई विश्वासको मत दिए। सर्वोच्चमा विचाराधीन मुद्दाकै कारण मनाङे खगराजतिर लागेको चर्चा चल्यो । त्यो बेला मनाङेलाई सर्वोच्चमा विचाराधीन मुद्दाको डर देखाएर एमालेलाई मत दिन लगाइएको चर्चा चलेको थियो । मनाङेले अघिल्लो चुनावमै नेकपा एकीकृत समाजवादीलाई साथ दिएका थिए । खगराजको पक्षमा बहुमत नजुट्ने अवस्थामा मनाङले सुरेन्द्रलाई नै साथ दिए । तर, २०८१ भदौ १८ गते पाण्डेले उनको भौतिक मन्त्रालय खोसेर वन मन्त्रालय जिम्मा लगाउन खोेजेपछि चाहिँ उनले राजीनामा दिए ।

त्यहीबीचमा सर्वोच्चले उच्च अदालत, पाटनको फैसला सदर गरिदिएपछि उनी पुनः डिल्लीबजार कारागार पुगे । गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सो जेलबाट कैदीबन्दी भागे । रास्वपा सभापति रवि लामिछाने विजयी मुद्रामा जेलबाट बाहिरिँदा पनि २ वर्ष जेल सजाय भुक्तान गर्न बाँकी रहेका मनाङ निस्किएनन् । चक्रे मिलनमाथिको आक्रमणमा दोषी ठहर भएका उनै मनाङेले आफूलाई ‘सच्चा कैदी’ प्रमाणित गरिरहँदा चक्रेलाई चाहिँ एमालेले प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । अर्थात् हिजो मनाङेलाई मन्त्री बनाउने एमालेले नै योपटक चक्रेलाई अवसर दिएको छ ।

दीपक मनाङे समूहको आक्रमणबाट छिनिएको उनको हात अहिले सग्लो नै छ । त्यो सग्लो हातको पाखुरामा उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’को ट्याटु खोपाएका छन् ।

चक्रे सुध्रिएको र जेन–जीको माग बमोजिम गोर्खा १ मा दिइएको एमालेले बताएको छ । एमालेको कुरा जनताले कत्तिको पत्याउँछन्, चुनावपछि थाहा हुन्छ । तर, चक्रे एमालेप्रति बफादार छन् भन्ने त उनले खोपाएको ट्याटुले नै प्रमाणित गर्छ । ‘हेभीवेट’बाबुराम र पूर्वमाओवादीहरु मैदानमा उत्रिएको ठाउँमा चक्रे मिलनको चुनावी दौड कस्तो हुन्छ भन्ने चाहिँ समयले देखाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->