मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीका विभिन्न निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी मनोनयन दर्ता (अपडेटसहित)

गण्डकीका विभिन्न निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी मनोनयन दर्ता (अपडेटसहित)


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा / आगामी फागुन २१ गते हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । ।

मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो । विभिन्न राजनीतिक दलहका उम्मेदवाहरु आफ्ना नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले उम्मेदवारी दर्ताको समय तोकेर सोही अनुसार मनोनयन गर्न गइरहेका छन् ।

कास्कीमा रास्वपाद्वारा तीन वटै क्षेत्रमा उम्मेदवारी दर्ता
पोखरा/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

कास्की क्षेत्र नम्बर १ मा खड्कराज पौडेल (गनेस) ले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा उत्तम पौडेल र क्षेत्र नम्बर ३ मा विना गुरुङले उम्मेदवारी दर्ता गराए । उम्मेदवारहरू समर्थकहरूको ठूलो र्‍यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए ।

तनहुँ–१ मा दीपकराज जोशीद्वारा स्वतन्त्र उम्मेदवार मनोनयन
तनहुँ /तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका छन् । सदरमुकाम दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

जोशीले यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेसँग राजित भएका थिए । यहाँ रास्वपाले स्वर्णीम वाग्ले र काँग्रेसका गोविन्द भट्टराईलाई दोहोर्याइएको छ । जोशीले नेपाली कांग्रेस स्वतन्त्र अभियान तनहुँ (जोशी समूह) सञ्चालन गर्दै आएका छन् । यो समुहले केही दिन अघि जिल्लामा भेला सम्पन्न पनि गरेको थियो । सोही भेलाले जोशी र सुकुमलाल गुरुङलाई उम्मेदवारका रुपमा अघि सारेको थियो ।

गोरखा–२ मा न्यौपानेद्वारा उम्मेदवारी दर्ता
गोरखा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता लेखनाथ न्यौपानेले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनी निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

यस क्षेत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट गुण्डा नाइके मिलन (चक्रे) गुरुङ, रास्वपाका कविन्द्र बुर्लाकोटी, कांग्रेसका प्रकाशचन्द्र दवाडी र नेकपा माओवादी (चन्द समुह) बाट उमा भूजेल उम्मेदवार रहेका छन । यसैले यो क्षेत्र अहिले गण्डकी प्रदेशकै सर्वाधिक चासो मध्येको एकमा परेको छ ।

गोरखा–१ मा नेकपाका अधिकारीको उम्मेदवारी
गोरखा प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । अधिकारी यस क्षेत्रका लागि परिचित अनुहार हुन् ।

उनले यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट जितेका थिए ।

स्याङ्जा २ मा कांग्रेसका मल्लको उम्मेदवारी
स्याङ्जा / स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मल्ल नेता तथा कार्यकर्ताहरूका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनी २०७४ मा प्रदेश सांसद बनेका थिए ।

मुस्ताङमा एमालेका इन्द्रधारा विष्टद्वारा उम्मेदवारी दर्ता
मुस्ताङ / यसैबीच मुस्ताङबाट नेकपा एमालेका इन्द्रधारा ढाडु विष्टले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता पछि मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले उम्मेदवार विष्टलाई मनोनयन दर्ताको निस्सा प्रदान गरे । उम्मेदवारी दर्ता क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कास्की– २ मा एमालेका रश्मी आचार्यको उम्मेदवारी
पोखरा / आसन्न प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि एमाले कास्की क्षेत्र नम्बर २ बाट युबा नेता रश्मी आचार्यले उम्मेदवारी दर्ता गरेका छन। उनको प्रस्ताबकमा एमाले केन्द्रिय सदस्य प्रभा कोइराला र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल रहेका छन्।


यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमालेले जिल्ला इन्चार्ज कृष्ण थापालाई टिकट दिएको थियो । तर चौतर्फी आलोचना भएपछि एमाले नेतृत्वले आइतबारमात्रै थापाको टिकट खोसेर आचार्यलाई दिएको थियो ।
आचार्य पोखराको चर्चित पृथ्वीनारायण क्याम्पसमा पूवास्ववियु सभापति हुन् ।

गोरखा– २ मा रास्वपाका बुर्लाकोटीको उम्मेदवारी दर्ता
गाेरखा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा हरिशरण आचार्य र समर्थकमा सुकबहादुर तामाङ रहेका छन् । आचार्य पनि यही क्षेत्रबाट उम्मेदवारका आकांक्षी थिए । रास्वपाले गोरखा–२ लाई प्रतिष्ठाको विषय बनाएको छ । यही क्षेत्रबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका मिलन (चक्रे) गुरुङ, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने प्रतिस्पर्धामा छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->