पोखरा/ आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशका जिल्लामा मंगलबार विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशका सबै जिल्लाहरुमा उत्साहजनकरूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, उज्यालो नेपाल पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
उम्मेदवारहरु आफ्नो पार्टीका नेता तथा कार्यकर्ता र मतादाताका साथ उम्मेदवारी दर्ताका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । गण्डकी प्रदेशभरीमा हेवीवेट उम्मेदवारका रुपमा प्रलोपाबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा २ र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुव्वा गुरुङ लमजुङमात्रै देखिएका छन् । जेनजी आन्दोलनबाट चर्चित बनेका सुदन गुरुङ र रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी पनि गोरखा १ र २ मा उम्मेदवार बनेका छन् । यसले पनि गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ नै अहिले गण्डकी प्रदेशकै चर्चामा छन् ।
विगतका निर्वाचनका आधारमा अहिले कसले बाजी मार्छ भन्ने यकिन गर्न नसकिने अवस्था छ । विशेष गरी जेन जी आन्दोलनका कारण झन्डै दुई वर्ष अघि हुन लागेको निर्वाचनमा नयाँ पार्टीको उदयले पनि मतदाताको मन फेरिन सक्ने आकलन गर्न सकिन्छ । नयाँ र पुराना दलहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिन्छ । यसले कसले चुनावी नतीजा आफ्नो पक्षमा पार्न सक्छ भन्ने यकिन गर्न सकिने अवस्था देखिदैन ।
कुन निर्वाचन क्षेत्रबाट कति उम्मेदवारले मनोनयन गर्ने भन्ने पूर्ण विवरण आउन भने बाँकी नै छ ।





