
पोखरा/ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न पक्षबाट माग भएकोले आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताए ।
फेसबुक लाइभमा आएर उनले आगामी दिनमा निरन्तर जनताको सेवामा लागिरहने र नयाँ दललाई साथ दिने बताएका छन् । तर अहिले नै कसैलाई सघाउने प्रतिबद्धता जनाइसकेका भने छैनन् । तर विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सघाउँन तयार रहेको भने उनले जनाएका छन् । रास्वपाले बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो भने नेकपाले तारा चुनाव चिह्न दिएर लेखनाथ न्यौपानेलाई फिर्ता बोलाउने प्रस्ताव अस्वीकार गरेको थियो ।
मुख्यगरी तीन कारणले आफूले उम्मेदवारी दिएको र पछि अन्य दल र शुभेच्छुकको सल्लाहबमोजिम नै फिर्ता लिएको उनले बताए । साथै संसदीय निर्वाचनमा सहभागी भएर संसद मात्र हुनु भन्दा सबैको चाहना वमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । भट्टराईले गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका थिए । गोरखा– २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, एमालेका मिलन गुरुङ (चक्रे मिलन) लगायत प्रतिस्पर्धामा छन् ।





