पाेखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीमा ५ जनाले मतदान गरेनन् ।
दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा ६० जना प्रदेश सांसद र ८५ स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी १७० जना मतदाता रहेका थिए । तर एक जना प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) अहिले जेलमा भएकाले उनको मतदाता नामावलीमा नाम समावेश थिएन । ५९ जना प्रदेश सांसद मतदाता रहेकोमा राप्रपाका पञ्चराम गुरुङ र बिन्दुकुमारी पौडेल मतदानमा अनुपस्थित भए ।
यसैगरी १७० जना स्थानीय तहका मतदाता रहेकोमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि १६९ जना मतदाता कायम रहेका थिए । त्यसमा पनि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा भएकाले मतदानमा सहभागी भएनन् । थापा नेपाली एमालेबाट निर्वाचित भएका थिए । यसैगरी मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा र स्याङजाको वालिङ नगरपालिकाकी उपमेयर कविता गैह्रे पनि मतदानमा अनुपस्थित भए । लामा बिरामी भएका र गैह्रे हाल देश बाहिर रहेको बुझिन आएको छ । दुवै जना कांग्रेसका हुन् ।
अहिले मतगणना जारी छ । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुने भएकाले गण्डकीमा निर्वाचन भएको हो । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला तर्फ भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका लागि निर्वाचन भएको हो । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।





