पोखरा/राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला र निर्वाचन क्षेत्रसमेत रहेको तनहुँ १ यतिबेला चर्चामा छ । रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएपछि रिक्त रहेको सो ठाउँमा २०८० साल वैशाख १० गते उपनिर्वाचन भयो । उपनिर्वाचनमा सो क्षेत्रमा कांग्रेसले गोविन्द भट्टराईलाई विरासत जोगाउने जिम्मेवारी सुम्प्यो । उता, एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई मैदानमा उता¥यो । तर, चर्चामा चाहिँ डा.स्वर्णिम वाग्ले रहे । रामचन्द्र पौडेल चुनाव लड्दै गर्दा स्वर्णिम कांग्रेसमै थिए । उनी चितवनबाट चुनाव लड्न चाहन्थे तर उनलाई रोकियो । कांग्रेसमा ठाउँ नपाएपछि स्वर्णिमले २०७९ को चुनावमा चौथो शक्तिबनेको राष्ट्रिय स्वतन्त्र पार्टी रोजे ।
गोर्खाका स्वर्णिम चुनावी मैदानमा आउँदा कांग्रेसको विरात जोगिन सकेन । वाग्लेले३४ हजार ४८० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वदी कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत पाए । उता,नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मतमा चित्त बुझाए । आउँदो फागुन २१ गते हुने चुनावमा पनि रास्वपाले वाग्लेलाई नै मैदानमा उतारेको छ । वाग्ले अहिले रास्वपाका उपाध्यक्ष छन् । उनलाई पार्टी सभापति रवि लामिछानेले भावि अर्थमन्त्रीको रुपमासमेत प्रक्षेपण गरेका छन् । तर, उनीमाथि चुनाव जितेपछि तनहुँको निर्वाचन क्षेत्रलाई ध्यान नदिएको आरोप छ ।
वाग्ले दोस्रोपटक चुनावी मैदानमा ओर्लँदै गर्दा संयोगले उनीसँग प्रतिस्पर्धाका निम्ति कांग्रेसबाट गोविन्द भट्टराई नै अघि सरेका छन् । पानीमान्छेको उपमा पाएका गोविन्दसँग कुनै काण्डमा फसेका छैनन् । तनहुँको ब्यासका जन्मेका र २०५४ सालमा नेपाल विद्यार्थी संघको सभापति हुँदा नै भ्रष्टाचारविरुद्ध अभियान छेडेको विरासत पनि उनीसँग छ । अघिल्लो चुनाव के कारणले हारेँ भन्ने बुझेका भट्टराई यतिबेला तनहुँका मतदातामाझ नै छन् । गाउँगाउँमा खानेपानी योजना लगेको जस लिने अवसर उनीसँग छ ।
उनका एक सहयोगीका अनुसार भट्टराई यतिबेला तनहुँ १ का जनतालाई ठूला नेतालाई भन्दा धरातल बुझेका सहयोगी व्यक्तिलाई जिताउनुहोस् भन्दै मतदातासम्म पुगेका छन् । ‘हाम्रै पार्टीका नेता रामचन्द्रले पटक–पटक जित्दा पनि तनहुँ १ मा सोचेजस्तो विकास हुन सकेन । रामचन्द्र दाइले नै देशको नेता भएकाले तनहुँमामात्र कहाँ ध्यान दिने भन्नुभयो । तनहुँ १ पछाडि प¥यो । ठूला नेतालाई जिताएर हैन, यहाँका जनतासँग घुलमिल भएकालाई जिताउनुपर्छ भन्ने सन्देश बोकेर हामी हिँडेका छौँ,’ उनले भने, ‘अहिलेको कांग्रेस पहिलेको हैन र हामी देश बनाउने एजेण्डासहित आएका छौँ । योपटक फरक पर्छ ।’
तर, रास्वपा नेताहरु त्यो कुरा मान्न तयार छैनन् । स्वर्णिमले चुनावी क्षेत्रमा बजेट विनियोजनदेखि विकास निर्माणका दीर्घकालीन योजना ल्याएको र पटक–पटक चुनावी क्षेत्र आएको उनीहरुको दाबी छ । ‘उहाँले संसदमा बोलेका कुरा रेकर्डमै छन् नि, तनहुँको बारे बोल्नुभएकै छ । एजेण्डा उठाउने कुरा त भइहाल्यो, योजना पनि त्यत्तिकै हाल्नुभएको छ नि,’ ती नेताले भने ।
यी भन्ने कुरा न हुन् । योपटक जनताको मुड कस्तो छ भन्ने चाहिँ आउँदो फागुन २५ पछि नै थाहा हुन्छ । सत्य चाहिँ के हो भने, सो क्षेत्रबाट प्रत्यक्षमा स्वर्णिम वाग्लेले जितेकै हुन् । २०७९ को चुनावमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १ सय ५८ मत पाएको थियो भने एमालेले १६ हजार ६ सय ८३ अनि रास्वपाले १२ हजार ७ सय ७३ मत पाएको थियो । माओवादीको ७ हजार ३ सय २६ र एकीकृत समाजवादीको ९ सय ५० अनि राप्रपाको ३ हजार ५ सय ७७ मत रहेको थियो । उपनिर्वाचन परिणाम हेर्दा कांग्रेसको भोट घटेको देखिँदैन । त्यो बेला कांग्रेस,माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेल थियो । अहिले चाहिँ एकीकृत समाजवादी र माओवादी मिलेका छन् । एमाले योपटक पनि एक्लै चुनावी मैदानमा छ । यस्तोमा चुनावी परिणाम जे पनि हुनसक्ने आँकलन स्थानीयहरुको रहेको छ ।
बहुदलपछि भएका ०४८, ०५१, ०५६ को चुनाव होस् या ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभा चुनाव नै किन नहोस् ! त्यहाँ कांग्रेसले हारेको थिएन । तर,२०७४ सालमा चाहिँ सो क्षेत्रबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नै पराजित बने । उनलाई त्यो बेला वामगठबन्धनका नेता कृष्णकुमार (किसान) श्रेष्ठले हराएका थिए । किसान यतिबेला एकीकृत समाजवादी छाडेर एमाले फर्किएका छन् । तर, उनी तनहुँको मैदानमा छैनन् । २०७९ को चुनावमा चाहिँ रामचन्द्र पुनः उम्मेदवार बन्दा माओवादीसहितको गठबन्धन थियो । पौडेलले त्यो बेला नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरे ।
पौडेलले २५ हजार ३६१ मत पाएर विजयी हुँदा एमालेका रानामगरले १९ हजार ९८१ मत पाएका थिए ।कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। त्यही ६ हजार ४४ मतको जगमा उभिएका स्वर्णिम अहिले रास्वपाको मियोको रुपमा खडा छन् । अघिल्लो चुनावी परिणाम हेर्दा अहिले पनि स्वर्णिमसँगै प्रतिस्पर्धा गर्र्नुपर्नेमा गोविन्द स्पष्ट छन् । कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले योपटक सो क्षेत्रबाट स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । तनहुँ १ मा राम्रै पकड बनाएका दीपक यसअघिको चुनावमा ब्यासको मेयरका प्रतिस्पर्धी थिए । उनलाई त्यो चुनावमा कांग्रेसका बैकुण्ठ न्यौपानेले २५२मतलेमात्र पराजित गरेका थिए । बैकुण्ठले १२ हजार ७८ मत पाउँदा नेकपा एमालेसँग तालमेल गर्दै स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीलाई ११ हजार ८२६ मत प्राप्त भएको थियो । बागी कांग्रेसको छवि बनाएका गोविन्दराजले योपटक कांग्रेसको भोट कति काट्छन् भन्ने लख काट्न चुनाव नै पर्खनुपर्ने हुन्छ तर पटक–पटक गाउँघर पुगिरहेका गोविन्द्रको पक्षमा सहानुभूति मत प्राप्त हुनेमा कांग्रेस विश्वस्त छ ।
स्वर्णिमले विजय हासिल गरेपछि भेटेरै बधाइ दिएका भट्टराईसहित तनहुँ १ मा कुल १२ जना उम्मेदवार छन् । अघिल्लो चुनावमा तेस्रो बनेको नेकपा एमालेले योपटक केन्द्रीय सदस्य भगवती न्यौपानेलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । राष्ट्रियसभाको कार्यलका सकिनै लाग्दा एमालेले उनलाई त्यहाँबाट राजीनामा गर्न लगाएर तनहुँ १ पठाएको हो । तनहुँको भानु ८ निवासी न्यौपानेसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेको अनुभव पनि छ । अखिलबाट राजनीति सुरु गरेकी न्यौपाने २०७४ सालको चुनावमा चाहिँ एमालेको तर्फबाट भानु नगरपालिकाको मेयरकी उम्मेदवार थिइन् । तर,परिणाम उनको पक्षमा आएन । कांग्रेसका विजयराज गौलीलाई नतिजा सुम्पे पनि लगत्तै उनी राष्ट्रियसभामा निर्वाचित भइन् । मन्त्री बनिन् र राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन लाग्दा पुनः संघीय सांसदको टिकट पाइन् । अघिल्लो पटको संसदीय चुनावमा एमाले विभाजित थियो र सोही क्षेत्रबाट रामचन्द्रलाई हराएका किसान श्रेष्ठ एकीकृत समाजवादीमा थिए ।
तनहुँ-१ मा राम्रो प्रभाव रहेका उनी एमाले फर्किएका छन् । हिजो किसानले रामचन्द्रका लागि मागेको मत भगवतीकै पोल्टामा पर्ने एमालेको विश्लेषण छ भने प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालमाथि लागेजस्तो टुरिष्ट उम्मेदवारको ट्याग पनि उनमाथि आउने छैन । अंग्रेजीमा स्नातकोत्तर न्यौपानेसँगै यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले विद्यानाथ ढकाललाई अगाडि सारेको छ । उनी एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका पुराना वामपन्थी नेता हुन् ।
भानु नपा–४ निवासी ढकाल २०७९ मा प्रदेश सभा १ को ख क्षेत्रबाट उम्मेदबार पनि बनेका थिए । यो क्षेत्रमा ब्यास नगरपालिकासहित भानु नगरपालिका,आवुँखैरेनी,देवघाट र बन्दीपुर गाउँपालिकाका ४२ वटा वडा रहेका छन् । तीमध्ये आँबुखैरेनी र बन्दीपुर हिजाको माओवादी केन्द्रको पकड क्षेत्र हो भने भानुमा पनि माओवादी कमजोर छैन । योपटक आफ्नै उम्मेदवार भएकाले माओवादीसहित हिजोको एकीकृत समाजवादीको मत बाँडिने छैन र त्यसको असर स्वर्णिमलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।
उज्यालो नेपालले ब्यास ११ निवासीमन्जिल रानालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ १ बाट रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ भने हर्क सम्पाङको श्रम संस्कृति पार्टीले काशीराम गुरुङलाई अगाडि सारेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेशनल रिपब्लिक नेपालका सुमन थापा पनि चुनावी मैदानमा छन् ।
त्यस्तै, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीले यो क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।तनहुँमा आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएकोमा तनहुँ १ मा १ लाख २६ हजार ८ सय ८२ मतदाता छन् ।





