बागलुङ/गत वर्ष बागलुङमा ४ हजार ८ सय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकोमा यो वर्ष ६ सय विद्यार्थी घटेका छन् । बसाइ सराईदेखि जन्मदरमा आएको गिरावटले यो अंक हरेक वर्ष घट्दो छ ।
गत वर्ष एक सय ४६ विद्यालयका विद्यार्थीले परीक्षा दिएकोमा यो वर्ष विद्यालय संख्या समेत १ सय ५२ मा झरेको छ । विद्यालय समायोजन तथा स्थगन लगायतका घटनाक्रमले विद्यालय सहभागि संख्या पनि घटेको हो ।
यो क्रमले आसन्न परीक्षामा प्रभाव पर्ने देखिएको छ । परीक्षा केन्द्र घट्नेदेखि जनशक्ती कटौती सम्मका संभावना देखिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रकाशबन्धु अर्याल बताउँछन् । गत वर्ष बागलुङका ३१ परीक्षा केन्द्रबाट परीक्षार्थीले परीक्षा दिएका थिए । यो पटक केन्द्र घट्न सक्ने भएपछि विद्यालयका शिक्षक र अभिभावक सशंकित छन् ।
परीक्षा केन्द्र हेरफेर भएमा बालबालिकालाई टाढा पर्ने र डेरा लिएर राख्नुपर्ने समस्या आउने अभिभावकको गुनासो छ । ‘‘थोरै विद्यार्थी भएको निहुँमा परीक्षा केन्द्र स¥यो भने हामीले दुःख पाउँछौं’’ एक अभिभावकले भने, ‘‘बालबालिकालाई कता लगेर राख्ने भन्ने समस्या आइपर्छ ।’ हालका अधिकांस परीक्षा केन्द्र रहेकोमा विद्यार्थीहरु आउजाउ गर्न सक्छन् । सदरमुकाम वा सहरी क्षेत्रमा मात्रै डेरा लिएर बस्ने व्यवस्था छ । ग्रामीण क्षेत्रमा डेरा पाउन नसकिने, खाना पकाएर खानुपर्दा पढाइमा असर पर्ने कतिपय विद्यार्थीको गुनासो छ ।
गलकोट नगरपालिका–८ का एक शिक्षक खर्चमा खासै फरक नपर्ने भएपछि केन्द्र घटाउन भने नमिल्ने तर्क गर्छन् । उनले विद्यार्थीको समस्या हेरेर विद्यालयले सहयोग गर्ने समेत बताउनुभयो । ‘‘परीक्षा केन्द्रमा १ सय जना भएपनि ५० जना भएपनि सामान्य खर्चमा परीक्षा चल्छ, तर केन्द्र सारियो भने विद्यार्थीले दुःख पाउँछन्’’ शिव मावि गलकोटका प्रधानाध्यापक हरि चालिसेले भने, ‘‘होम सेन्टर नराखौं, तर विद्यार्थीलाई पायक पर्ने स्थानका केन्द्र हटाउन भएन ।’’
शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्धु अर्यालले केन्द्र घटाउने प्रयास नहुने बताए । ‘‘बागलुङको भूगोल बुझाउने प्रयास भएको छ’’ उनले भने, ‘‘विद्यार्थीलाई असर नपर्ने तर प्रशासनिक खर्च घट्ने गरी केन्द्र मिलान भने हुन सक्छ ।’’ विद्यार्थी संख्या घटेको विषय मात्र जानकारी गराएकोले केन्द्रको विषयमा केही जानकारी नआएको अर्यालले प्रष्ट पारे ।
अर्यालका अनुसार यो वर्ष पनि ग्रेड वृद्दि र प्राविधिक धारको परीक्षा पनि यथावत रहनेछ । बागलुङमा १० वटा विद्यालयले प्राविधिक धारको परीक्षा पनि दिनेछन् । पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ विद्यालयले परीक्षा दिने गरेका छन् । परीक्षालाई मर्यादित बनाउन सबै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र जनप्रतिनिधि तथा स्थानीय प्रहरी चौकीमा समन्वय गरिने छ ।





