सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोहोरिने दाउमा स्वर्णिम र शंकर

दोहोरिने दाउमा स्वर्णिम र शंकर

वाग्ले र भण्डारी दुवैलाई परिचित प्रतिद्वन्द्वीले चुनौती दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

पोखरा/तनहुँका दुवै निर्वाचन क्षेत्रमा विघटित प्रतिनिधिसभामा निर्वाचित सांसदले पुनः उम्मेदवारी दर्ता गराएका छन् । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले मनोनयन दर्ता गराएका हुन् ।

वाग्ले र भण्डारी दुवैलाई परिचित प्रतिद्वन्द्वीले चुनौती दिएका छन् । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि ०८० वैशाख १० गते तनहुँ १ मा उपनिर्वाचन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बन्दै वाग्ले निर्वाचित भए । उनले कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै संसदीय यात्रामा डेब्यु गरे ।

त्यसबेला वाग्लेले ३४ हजार ९१९ मत ल्याएका थिए । निकटतम् प्रतिस्पर्धी कांग्रेसका भट्टराईले २० हजार १२२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए ।

वाग्लेलाई त्यसबेला ‘टुरिष्ट’ उम्मेदवार पनि भनिएको थियो । तर, परिणाम उनकै पक्षमा गयो । उनले यसपटक पनि तनहुँ–१ नै रोजे । वाग्लेलाई चुनौती दिन उपनिर्वाचनका निकटम् प्रतिस्पर्धी कांग्रेसका भट्टराई नै चुनावी मैदानमा छन् । वाग्ले र भट्टराईसहित तनहुँ–१ मा १६ जनाको मनोनयन दर्ता भएको छ ।

यो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) बाट पूर्वमन्त्री भवगती न्यौपानेले उम्मेदवारी दिएकी छन् । ०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकाको मेयरमा पराजित न्यौपाने राष्ट्रियसभा सदस्य हुँदै पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत भएकी थिइन् ।

तनहुँ १ मा नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल, उज्यालो नेपाल पार्टीका मन्जिल राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले उमेदवारी दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलगायतले स्वतन्त्र उमेदवारी दिएका छन् ।

अपूरो कार्यकालमा तनहुँमा आफूले पर्याप्त काम गर्न नपाएकाले पुनः उम्मेदवारी दिएको वाग्ले बताउँछन् । ‘तनहुँका मतदाताको अनुरोध आफूले गर्न चाहेका कामहरू बाँकी रहेको एउटा प्रसंग भयो,’वाग्ले भन्छन्,‘तनहुँले दिएको माया घट्नुभन्दा पनि बढिरहेको मैले पाएपछि यो ठाउँ छोड्नुहुन्न, अझ बढी सशक्त उमेदवार, अझ बढी मत ल्याएर अगाडि जानुपर्छ भन्ने रह्यो ।’ उम्मेदवारी दर्ता गराएपछि वाग्लेले निर्णायक हैसियतमा पुगेर सुशासनको नमूना पेस गर्ने बताए । आफूले जिते मुलुकको बेथिति पखाल्न भूमिका खेल्ने उनको भनाइ छ ।

तर,कांग्रेसका उम्मेदवार भट्टराई भने यसपटक वाग्लेलाई रोक्दै आफू निर्वाचित हुने दाबी गर्छन् । पार्टीको संगठन, जनतासँगको प्रत्यक्ष संवादसँगै विकास र स्थायित्वको मुद्दालाई उनले जितको आधार बताए ।

‘डेमोक्रेसीमा एउटै पार्टीले लामो समय जित्ने नहुन पनि सक्छ । र, त्यो मूल्यांकनमा यो क्षेत्र जसले जित्नुभयो र उहाँले जनतालाई के डेलिभरी दिनुभयो ? के हिजो वाचा गर्नुभाथ्यो ? र, त्यो कति पूरा गर्नुभो ? यी सबै कुराको विश्लेषण गरेर करेक्सन आउँछ,’ भट्टराईले भने,‘यो पटक क्षेत्र नम्बर १ को निर्वाचनमा विगतको परिणाम निश्चित रूपमा परिवर्तन हुन्छ र म विजय हुन्छु ।’

तनहुँ २ मा पनि विघटित प्रतिनिधिसभाका सांसद शंकर भण्डारीले पुनः उम्मेदवारी दिएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल गृहथलोमा आउने चर्चा थियो । पछि उनी काठमाडौं–५ बाट उठ्ने निधो गरेपछि भण्डारीले तेस्रोपटक तनहुँ–२ बाट लड्ने अवसर पाएका हुन् ।

०७९ को निर्वाचनमा भण्डारीले नेकपा (एमाले) का किरण गुरुङलाई पराजित गरेका थिए । त्यतिबेला भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत पाएका थिए । भण्डारीले जहाँबाट हारेका थिए त्यहाँबाट जित्दै दोस्रो पटक संसद छिर्ने अवसर पाएका थिए ।

अहिलेका राष्ट्रपति रामचन्द्र पौडेले उम्मेदवार बनेपछि तनहुँ–१ बाट तनहुँ–२ छिरेका भण्डारीले ०७४ मा हार व्यहोर्नुपरेको थियो । त्यतिबेला एमालेका केदार सिग्देल ३२ हजार ९२४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६४५ मत पाएर दोस्रो भएका थिए ।

योपटक त्यतिबेला सँगै लडेका परिचित प्रतिस्पर्धी भण्डारी र सिग्देल पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । यी दुईलाई चुनौती दिन नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय स्वतन्त्र पार्टीका ई. श्रीराम न्यौपाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरीलगायत १२ जना उम्मेदवार मैदानमा छन् ।

अघिल्लो कार्यकालका अधुरा काम पूरा गर्नलाई जनताले आफूलाई जिताउने दाबी भण्डारीको छ । ‘यो क्षेत्रका गाउँबस्तीका जनताका आवश्यकताहरूलाई पूरा गर्ने अभिभारा अझै बाँकी छ । गाउँको विकासलाई सम्बोधन गर्ने काम सुरु भएको थियो । त्यसलाई पूर्णता दिन बाँकी हुदै अर्ली इलेक्सनको परिस्थितिमा पुग्यौँ,’ भण्डारी भन्छन्, ‘हिजोका मेरा प्रतिबद्धताहरू पूरा गर्नका लागि पनि उम्मेदवारी दिएँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->