आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रेस चौतारीको २८ औं स्थापना दिवश मनाइयो

प्रेस चौतारीको २८ औं स्थापना दिवश मनाइयो

दुइ पत्रकार पुरस्कृत


  • ढाेरपाटन संवाददाता
  • माघ २२ २०८२, बिहिबार

बागलुङ/प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रेस चौतारी बागलुङ शाखाको आयोजनामा बिहिबार प्रवचन तथा पुरस्कार बितरण गरेर दिवश मनाइएको हो ।

स्थापना दिवशको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले नेपाली प्रेस समेत संकटमा परेको बेला जिम्मेवार र तथ्य पत्रकारिताले मात्र राज्यलाई दिशानिर्देश गर्न सक्ने बताइन् । उनले लोकतन्त्र लुटिन र कुटिन नदिन प्रेसले अग्रणी भूमिका खेल्नुपर्ने समेत बताइन् । सत्यतथ्य सूचनाबाटै नागरिकले सही कुरा जान्न पाउने भएकोले पत्रकारिता त्यसतर्फ लाग्नुपर्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले आम नागरिकलाई संचारकर्मबाट सूसूचित गर्ने प्रेस सबैको साझा सम्पत्ति भएको बताए । उनले सही सूचनाबाट मात्र राज्यको बिकास र समृद्दि संभव भएको भन्दै त्यसकालागि पत्रकारहरुको भूमिका महत्वपुर्ण भएको पनि उनले बताए । पछिल्लो समय सामाजिक संजाल मार्फत आएका कैयौं हल्ला र गलत सूचनालाई चिर्नपनि मुलधारको पत्रकारिता सक्षम हुनुपर्ने उनको धारणा थियो ।

प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष संगीता रेग्मीको स्वागत र सचिव रोहन जिसीको संचालनमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी बागलुङका इन्चार्ज गणेश गिरि, प्रेस चौतारी पर्वतकी इन्चार्ज सिर्जना पन्त, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अबिरल, पेशागत संगठनको तर्फबाट प्रगतीशिल पत्रकार संघका अध्यक्ष बिजय राना, प्रेस चौतारीका पुर्व केन्द्रीय सचिव रामकृष्ण शर्मा, एमाले क्षेत्र नं. १ का उमेदवार हिराबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दुइ पत्रकार पुरस्कृत
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवशको अबसरमा बागलुङका दुइ पत्रकार पुरस्कृत भएका छन् । २०७२ सालमा स्थापना भएको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सिर्जना पन्त र २०७९ मा स्थापित प्रेस चौतारी युवा पुरस्कारबाट महासंघकै सदस्य अर्जुन कार्की पुरस्कृत भएका हुन् ।

पुरस्कृत पन्त चौतारीको पर्वत जिल्ला इन्चार्ज र कार्की जिल्ला शाखा बागलुङका उपाध्यक्ष समेत हुन् । एमाले केन्द्रीय सदस्य मनकुमारी जिसीले पत्रकारलाई पुरस्कार प्रदान गरिन् । पुरस्कार जनही १० हजार रुपैया“ रहेको जिल्ला अध्यक्ष कमल पौडेलले जानकारी दिए । चौतारीले एकएक लाख रुपैयाँको दुइवटा कोष बनाएको छ । उक्त कोषको व्याजबाट हरेक बर्ष दुइ पत्रकारलाई पुरस्कार दिने गरी कार्यविधि बनाएको हो । सोही अनुरुप यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार छनौटकालागि प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सचिव रामकृष्ण शर्मा नेतृत्वमा छनौट समिति गठन भएको थियो । उक्त समितिले दिएको सुझावको आधारमा पुरस्कार बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->