पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवम् भयरहित बनाउनका लागि मतदान केन्द्र नमुना अभ्यास आयोजना गरिएको हो । कास्की प्रहरीले प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरी लक्षित गर्दै उक्त अभ्यास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले जानकारी दिए ।
‘हामीले हाम्रो मातहतका सबै प्रहरी कार्यालयमा यो अभ्यास गराएका छौं । कास्की जिल्ला भर हाम्रो ७७ युनिट छन ति युनिटमा समेत पुनः यो अभ्यास कार्यक्रम हुनेछ । निर्वाचनको क्रममा ड्युटिमा खटिदाँ आफ्नो काम के हो त्यो अन्योलमा नपरोस् भनेर यसो गरिएको हो’ उनले भने, ‘निर्वाचनका लागि हाम्रो तयारी भव्य भइरहेको छ । शान्तिपूर्ण निर्वाचन गराउनु सबैको दायित्व हो । अहिले निर्वाचन प्रहरीका लागि प्रशिक्षण समेत चलिरहेको छ ।’
उक्त अभ्यास वडा प्रहरी कार्यालय बगर, बैदाम, रामबजार, इलाका प्रहरी कार्यालय डाडाको नाकलगयतमा सञ्चालन गरिएको छ । निर्वाचन प्रहरीहरुलाई निर्वाचन सुरक्षा व्यवस्था, नमुना मतदान स्थलको निर्माण, अवलोकन तथा मतदान प्रकृया सम्बन्धी अभ्यास गराईएको उनले बताए ।





