बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मतदाता भेट्दै योजना सुनाउँदै

मतदाता भेट्दै योजना सुनाउँदै


  • अमृत बास्कुने
  • माघ २७ २०८२, मंगलबार

म्याग्दी/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमीएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् ।

यस जिल्लामा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आआफ्नो शैली र तौरतरीकाबाट मतदातालाई प्रभावित पार्ने प्रयास थालेका हुन् । निर्वाचन आचारसंहिता अनुसार चुनावी कार्यक्रम गर्न नपाइने भएकोले घरदैलो तथा भेटघाट गरेर मत माग्ने काममा उम्मेदवारहरु लागेका हुन् ।

यसै सिलसिलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्मार्ट म्याग्दी बनाउने योजना सुनाएका छन् । प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि त्योसँगै विकास निर्माण, सुशासन कायम र रोजगारी सिर्जना प्रमुख एजेण्डामा काम गर्ने उनको भनाई छ । जिल्लाको पश्चिम मालिका गाउँपालिकाको घरदैलो अभियानमा सांसद जनताको प्रतिनिधि भएकोले विकास निर्माण तथा म्याग्देली जनताको आशा र अपेक्षा अनुसार का्म गर्ने प्रतिबद्धता जनाए ।

म्याग्दी जिल्लाबाट उम्मेदवारी दिएका एकमात्र स्वतन्त्र उम्मेदवार महावीर पुनले पहिलो चरणको घरदैलो अभियान सकिएको जनाएका छन् । पहिलो चरणको भेटघाट जन्मगाउँ नागीमा पुगेर सकिएको हो । माघ ६ गते मनोनयन दर्ता गरेलगत्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङबाट थालेर उम्मेदवार पुनले मालिका, धवलागिरी, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा विभिन्न बस्तीमा पुगेर मतदाता भेटेका थिए ।
‘पहिलो चरणको अभियान सकिएको छ, अब समिक्षा सहित दोस्रो चरणको अभियानमा जुट्छौ’, पुनका सहयोगी चित्र तिलिजाले भने ।  मुख्य दावेदार मानिएका नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीसँगै पछिल्लो समय स्वतन्त्र उम्मेदवार महावीर पुनको पनि चर्चा छ । राजनीतिक दललाई महावीरको प्रवेशले त्रास थपेको छ । उम्मेदवार पुनले आफ्ना सहयोगी र शुभेच्छुकहरु सहित मतदाताहरुलाई भेटेर आफ्ना कुरा राख्ने र ‘मन लागे देउ नलागे नदेउ भन्दै मतका लागि आग्रह गरी रहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जिल्लालाई बजेट विनियोजनमा प्राथमिकता दिने बताएका छन् । उनले पहुँचको आधारमा विकास निर्माणका आयोजना छनोट हुने परम्परागत शैलीलाई फेरेर आवश्यकताको आधारमा योजना छनौट गर्ने वातावरण बनाउने बताए । म्याग्दी हिमाली जिल्ला घोषणा भएपनि बजेटको प्राथमिकतामा नपरेको, आवश्यक पर्ने धेरै योजनाहरूमा अपेक्षा गरेअनुसार बजेट नपाएको अवस्थालाई तोड्न समानुपातिक बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।  घरदैलो अभियानमा जिल्ला भित्रका ६ वटै स्थानीय तहमा पुगेर उम्मेदवार भण्डारीले कानुन बनाउनेदेखि समस्या समाधानमा निरन्तर खट्ने बताए ।

राप्रपाका उम्मेदवार डम्भरबहादुर सुबेदीले कालिगण्डकी नदीमा स्नान तथा ४०० वर्ष पुरानो बेनी शिवालय मन्दिरमा पुजा गरी चुनावी घरदैलो अभियान सुरू गरेका छन् । मतदाता भेटघाट कार्यक्रमका लागि अभियान सञ्चालन गर्नु पहिला उम्मेदवार सुबेदीले म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल दोभानमा स्नान तथा शिवालय मन्दिरमा दर्शन गरेका थिए । धार्मिक पर्यटनमार्फत जिल्ला र मुलुकलाई धनी बनाउन सकिने भएकाले कालिगण्डकी नदीमा स्नान गरी मतदाताको घरदैलोमा हिडेको उनले बताए । म्याग्दी र कालिगण्डकी नदीमा स्नानसँगै पर्वत, खबरा र बेनीलाई जोड्ने तीनमुखे पुल, कालिगण्डकी नदीमा स्नानका लागि भारत सहित तेस्रो मुलुकबाट धार्मिक पर्यटक भित्राउने सहितका योजनाहरु आफूले बनाएको उनको भनाई छ ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले पश्चिम म्याग्दीको दरवाङ देखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले समग्र विकासका लागि सडक विकास आवश्यक हुने भएकाले आफ्नो मुख्य प्राथमिकता त्यही रहेको बताएका हुन् ।

म्याग्दीमा कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, स्वतन्त्र उम्मेदवार महावीर पुन, राप्रपाबाट डम्भरबहादुर सुबेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार रहेका छन् । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा उम्मेदवार छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ४४ हजार ६४ महिला र ४२ हजार तीन सय ३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन् । ८२ मतदान स्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->