आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

रवीन्द्र अधिकारीको विरासतमा उभिएको कास्की २

रवीन्द्र अधिकारीको विरासतमा उभिएको कास्की २

रास्वपा, कांग्रेस, नेकपा र राप्रपाको आ–आफ्नै दाउ


  • ढाेरपाटन संवाददाता
  • माघ २८ २०८२, बुधबार

पोखरा/२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कास्कीमा ४ वटा निर्वाचन क्षेत्र थिए । हालको कास्की २ का धेरैजसो भाग रहेको कास्की क्षेत्र नम्बर ३ बाट त्यो बेला एमालेका युवा नेता रविन्द्र अधिकारी १३ हजार ३ सय २८ मतले विजयी बने । उनका प्रतिस्पर्धी माओवादीका झलकपाणि तिवारीले १० हजार ९ सय २९८ मत ल्याए । पहिलो संविधानसभामा बाँकी ३ क्षेत्र भने माओवादी केन्द्रले जितेको थियो ।

रवीन्द्रले पछाडि फर्कनु परेन । २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी नै दोहोरिए । १३ हजार ३ सय १० मतसहित विजयी हुँदा उनलाई कांग्रेसका सोभियत अधिकारीले १० हजार ८ सय ८ मतले पच्छ्याए ।

२०७४ को आम निर्वाचनमा रवीन्द्रले २७ हजार २ सय ७ मत ल्याउँदा हाल नेपाली कांग्रेसका प्रवक्ता रहेका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । त्यो जीतसँगै रवीन्द्र केपी ओली नेतृत्व सरकारमा पर्यटनमन्त्री बने । तर, २०७५ साल फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० मा पर्ने सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनमा उनीसहित ६ जनाको निधन भयो ।

रिक्त पदका निम्ति २०७६ साल मंसिरमा भएको चुनावमा एमालेले स्वर्गीय रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । विद्या त्यो बेला उम्मेदवार बन्न इच्छुक थिइनन् ।

तर, पार्टीले उनलाई टिकट दियो । उपनिर्वाचनमा उनले ८ हजार ४ सय ३ मतान्तरले जीत हात पारिन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सादगी नेता( हाल स्वर्गीय) खेमराज पौडेल थिए । २०७९ मा पनि विद्या सो क्षेत्रबाट उम्मेदवार बनिन् । १६ हजार ९ सय ९८ मतसहित उनी विजयी बन्दा निकटतम् प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेल निस्किए । चर्चामै नरहेका उनले रवीन्द्रको विरासत बोकेकी विद्यालाई टक्कर दिँदा १२ हजार ४ सय ९५ मत पाए । कांग्रेस–माओवादी र एकीकृत समाजवादीको तर्फबाट चुनावी मैदानमा उत्रिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे । राप्रपाका सुवर्णराज पन्तले ३ हजार ९९३ र स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता महादेव गुरूङको पोल्टामा १ हजार ३४० मत गएको थियो ।

लगातार ४ पटक एउटै पार्टीका उम्मेदवार विजयी हुने क्षेत्रलाई सो पार्टीको आधार क्षेत्र अर्थात् गढ मान्नु स्वभाविक हो । तर, कास्की क्षेत्र नम्बर २ मा एमालेको संगठन हल्लिएको चाहिँ २०७९ कै चुनावले प्रमाणित गरिदियो । समानुपातिकतर्फको मत त झन आश्चर्यजनक थियो । रास्वपाले १४ हजार २ मत प्राप्त गर्दा एमालेले १३ हजार ५४०, नेपाली कांग्रेसले १० हजार ५५३,राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ४६५,माओवादी केन्द्रले २ हजार ४०४ र नेकपा एकीकृत समाजवादीले १ हजार १७७ मत प्राप्त गरेका थिए । प्रदेशसभामा एमालेले १६ हजार ९०३,कांग्रेसले १२ हजार ९७१,राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार १२४,माओवादी केन्द्रले २ हजार ८५४,हाम्रो नेपाल पार्टीले २ हजार ३७३ र एकीकृत समाजवादीले १ हजार ८३६ मत ल्याएका थिए । यो मत परिणामले भन्छ– कास्की २ मा पहिलाजस्तो एमाले सुरक्षित छैन र रास्वपाप्रतिको आम मतदाताको झुकाव बढ्दो क्रममा छ । यो चुनावमा चाहिँ विद्या टाढै बसिन् । एमालेको ११ औं महाधिवेशनबाटै राजनीतिबाट ओझेल परेकी उनको सट्टा एमालेले त्यहाँ विद्यार्थी राजनीतिबाट उदाएका रश्मी आचार्यलाई अगाडि सारेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेका रश्मीसँगै यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला‘मधु’,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट हेमबहादुर थापा‘किरण’राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ,नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी,मंगोल नेसनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ,नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ,नेसनल रिपब्लिक पार्टीबाट ज्ञानराज गुरुङ,नेपाल कम्युनिष्ट पार्टी( माओवादी) बाट प्रेमबहादुर थापा,उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङसहित स्वतन्त्र रुपमा निरञ्जन कोइराला,निर्दोषविक्रम पौडेल,रामचन्द्र आचार्य,वसन्तराज घिमिरे र विष्णुप्रसाद तिवारी मैदानमा छन् ।

पोखरा महानगरपालिकाका ४,७,८,९,११,१५,१६,१७,२०,२१ र ३३ नम्बर समेटिएको यो चुनावी क्षेत्रमाा कुल ८४ हजार १३४ मतदाता रहेका छन् । तीमध्ये महिलाको संख्या ४४ हजार ३४० रहेको छ ।
अहिले यो क्षेत्रका सबैजसो उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । जनतासँग उनीहरुले मतमात्र मागेका छैनन्, आफूलाई जिताउँदा यो र त्यो काम गर्छु भन्ने आश्वासन पनि दिइरहेका छन् ।

सहरी मतदातामाझ लोकप्रिय तथा अघिल्लो चुनावमा समानुपातिकमा पाएको मतले उत्साही देखिएको रास्वपाले यो क्षेत्रबाट संचारकर्मी उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । ग्यालेक्सी फोरके टेलिभिजनमा काग गर्ने क्रममा उनीले रवि लामिछानेसँग सहकार्यको अवसर पाए । गण्डकी ब्यूरो प्रमुखको रुपमा भुइँमान्छेका मुद्दाहरु उठाए ।

‘संचारकर्ममा रहँदा हिजो पनि भुइँमान्छेको आवाज उठाएको हो । त्यो आवाज सिंहदरबारभित्र सुनाउनुपर्छ भन्ने लागेर राजनीतिमा होमिएको हो,’उनी भन्छन्,‘जनताका आवाज बोकेर सिंहदरबार छिर्दा म भुइँमान्छेका सपनाहरुले थिचिएको हुनेछु ।’

यता, विद्या भट्टराईको विरासत बोकेर चुनावी मैदानमा आएका रश्मी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । रवीन्द्र अधिकारीजस्तै पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति भइसकेका रश्मी अखिलको केन्द्रीय उपाध्यक्ष बनेका उनी हाल केन्द्रीय सदस्य छन् ।

एमालेले सुरुमा कास्की क्षेत्र नम्बर २ मा पुराना नेता तथा पोखराका पूर्वमेयर एवं प्रदेश सांसद कृष्ण थापालाई टिकट दिएको सार्वजनिक भयो । मनोनयन दर्ताको अघिल्लो दिन माघ ५ गते चाहिँ त्यो टिकट रश्मीको हातमा आइपुग्यो । ४ पटक लगातार चुनाव जितेको क्षेत्रमा प्रतिस्पर्धामा खरो उत्रनसक्ने व्यक्तिलाई टिकट दिनुपर्छ भन्ने दबाबका कारण रश्मी अगाडि सारिएको एमालेका नेताहरुको भनाइ छ । स्वर्गीय नेता रवीन्द्र अधिकारीकै गाउँका रश्मी चुनाव जित्नेमा ढुक्क छन् । घरदैलो अभियानमा रहेका उनले आफूलाई जेनजी र पुरानो पुस्ता दुबै बुझेको नेताको रुपमा प्रस्तुत गरिरहेका छन् ।

‘म निरंकुशताविरुद्धको आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेको मान्छे हुँ । देश हल्लाले हैन, धरातल बुझेको शक्तिले मात्र बनाउन सक्छ,’उनी भन्छन्,‘म अग्रजको भावना र युवाको चाहना बोक्ने भरिया हुँ र जनताले मेरो निष्ठाप्रति भरोशा जनाउनुभएको छ ।’

मुख्य प्रतिस्पर्धी मानिएकामध्ये नेपाली कांग्रेसका माधव बास्तोला ‘मधु’ र राप्रपाका हेमजंगबाहेकका सबैजसो उम्मेदवारको लागि यो पहिलो चुनावी परीक्षा हो ।मधुले २०५४ सालमा वडाध्यक्षको रुपमा जनअभिमत प्राप्त गरिसकेका छन् । पोखरा ११ का बासिन्दा मधु मरेर बाँचेका व्यक्ति हुन् । २०६७ साल असोजमा कांग्रेसको १२ औं महाधिवेशनमा भाग लिएर फर्कँदै गर्दा उनी सवार गाडी मुग्लिन–कुरिनटार सडकखण्डको रमाइलो डाँडामा दुर्घटनामा प¥यो । एउटै गाडीमा रहेका पोखरा ४ का वडाध्यक्ष कृष्णप्रसाद पराजुली,महासमिति सदस्य तेजप्रसाद दाहाल,युवराज पहाडीको घटनास्थलमै ज्यान गयो । अर्का सहयात्री जोगेन्द्र बाटाजूको पनि उपचारको क्रममा निधन भयो । उनी र मदन केसी चाहिँ लामो उपचारपछि निको भए । क्षेत्रीय सभापति भइसकेका यी सादगी नेताप्रति कांग्रेसीहरुको सहानुभूति छ ।

‘म निष्ठाको राजनीति गर्छु र गगन नेतृत्वको सुधारिएको कांग्रेसको उम्मेदवार हो,’ उनी भन्छन्, ‘मधु स्वयं पनि यो परीक्षा सहजै पार लगाउने जिकिर गर्छन् र भन्छन्,‘मेरो निष्ठा, र इमान्दारिता सबैले देख्नुभएकै छ । हाम्रा साथीहरु यतिबेला एकताबद्ध हुनुहुन्छ । बदलिएको कांग्रेसप्रतिको जनविश्वास मेरो जित्ने आधार हो ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यो क्षेत्रमा हिजो जनयुद्धका कमाण्डर हेमबहादुर थापा‘किरण’लाई मैदानमा उतारेको छ । आमोद उपनामले चर्चित यी नेता माओवादी शान्ति प्रक्रियामा आएपछि समायोजन नरोजेका योद्धा हुन् ।

‘यो देशमा वर्ग विभेद छ । असमानताको ठूलो खाडल छ । जाग्दा सपनाहरुलाई फुलाउनु र फलाउनु छ । त्यसको लागि परिवर्तनकारी एजेण्डाको आवश्यकता छ र त्यो कुरा मैले जनतामाझ राखेको छु,’उनी भन्छन्,‘लोकरिझ्याइँवादले देश बन्दैन र देश बनाउन प्रतिवद्ध नेता चाहिन्छ भन्ने हाम्रो आह्वानलाई जनताले मन पराउनु भएको छ ।’

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष इ.हेमजंग गुरुङ पनि मैदानमा छन् । राप्रपा अहिले चर्चा गरिएका पार्टी जत्तिकको बलियो त छैन तर राजासहितको हिन्दुराज्यको माग गर्ने यो पार्टीका शुभेच्छुकहरु चाहिँ यहाँ पनि कम छैनन् भन्ने अघिल्लो मत परिणामले पुष्टि गर्छ । लमजुङ जन्मथलो भएका हेमजंग नै पोखरामा ओर्लिएपछि तरक्की हुने राप्रपाका नेताहरुको जिकिर रहँदै आएको छ ।

‘पछिल्लो समय हाम्रो एजेण्डा (राजसंस्थासहितको हिन्दुराज्य) प्रति आम नागरिकको समर्थन ह्वात्तै बढेको छ । यो धार्मिक आस्थाको सहर हो,’ राप्रपाका नेता नारायण गुरुङ भन्छन्,‘हाम्रो यहाँ कसैसँग प्रतिस्पर्धा छैन । हाम्रो एजेण्डा स्थापित हुँदै गएको छ र तल्लो तहमा रहेका नागरिकहरु नै हाम्रो जीतको आधार हुन् ।’

उता, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका कुशल गुरुङ पनि उज्यालो नेपालका निम्ति आफूलाई मत दिने आग्रहसहित जनतामाझ छन् । पेशाले इञ्जिनियर रहेका उनी नीति निर्माणको क्रममा भएका त्रुटिका कारण देशले समृद्धि प्राप्त गर्न नसकेको बताउँछन् ।

‘राजनीति गर्नेहरुलले विज्ञहरुको कुरा सुनेनन्,वास्तविकताको धरालतमा उभिएर योजनाहरु बनेनन्, त्यसको मार हामीले भोग्दै आएका छौँ,’ उनी भन्छन् ।

चुनावी मैदानमा रहेका सबैजसो उम्मेदवारहरु आफू अब्बल बन्ने प्रयत्नमा छन् । चुनावमा रात रहँदा अग्राख पलाउँछ । मतदानको क्षणसम्म जनताले कसलाई अभिमत दिन्छन् वा कसले जनमत पाउँछ, नतिजा चाहिँ उसकै पक्षमा जान्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->