पोखरा/आहा रारा पोखरा गोल्डकपमा आइतबार जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड बिच दोस्रो क्वाटरफाइनल खेल भयो । पोखरा रंगशालास्थित फुटबल स्टेडियममा मछिन्द्रलाई प्रिक्वाटरफाइनलमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको जावलाखेलले चर्च ब्वाइजको सामना ग¥यो । जावलाखेलले ३–० ले हराउँदै सेमीफाइनलका यात्रा गर्दा चर्च ब्वाइज भने बाहिरियो ।
खेलको किक अफको ह्विसियल बजेसंगै जावलाखेलले आक्रमण ग¥यो । पहिलो २० सेकेन्डमै जावलाखेलका निकोलस ओदाने हामिल्टोनले निकै उत्कृष्ट प्रहार गरे । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ हान्दै पन्च गरि जोगाउँदा जावलाखेलले कर्नर पायो । युवराज ढकालले कर्नर प्रहार गरेको बलमा अनिल राना मगरले हेडर गरेको बल पोष्ट नजिकैबाट बाहिरियो ।
खेलको सुरुवात बाटै जावलाखेलले आफ्नो हैकम जमाएपनि बारम्बार गोल गर्नबाट चुक्यो । खेलको दोस्रो मिनेटमै विकास मगरको प्रहारमा गोलरक्षक कार्की पुनः बाधक बने । उनले छैटौं मिनेटमा बुबाखर सिसोखोको प्रहार र २९ औं मिनेटमा धर्बेन्दर कुवँरको प्रहार रोके । २१ औं मिनेटमा फ्रिकिक प्राप्त गरेको चर्च ब्वाइजपनि गोल गर्नबाट चुक्यो । एरिक विष्टले प्रहार गरेको फ्रिकिकमा गोलरक्षक युनेश चौधरी बाधक बने ।
पहिलो हाफ बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने चर्चब्वाइजमाथि जावलाखेल झन हाबी भयो । धरवेन्दर कुँवरले जावलाखेलका लागि पहिलो गोल गरे । ४८ औं मिनेटमा बल अघि बढाउदा चर्च ब्वाइजका गोलरक्षक अघि बढ्दै रोक्ने प्रयास गर्दा फुत्किएको बलमा उनले गोल गरे । ८८ औं मिनेटमा निकोलस ओदाने हामिल्टोनले अग्रता दोब्बर पारे । यस्तै निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त चार मिनेटमा परिवर्तित खेलाडी सुजन गुरुङले गोल गरे ।
उनी ७३ औं मिनेटमा प्रशान्त राजकको स्थानमा मैदान प्रवेश गरेका थिए । जावला खेलले अब सेमीफाइनलमा उज्वेकीतानी टोली आभा र प्लानिङ ब्वाइज युनाइटेडको विजेतासंग खेल्नेछ । प्रतियोगिता अन्तरगत आज मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ड नर्थ युनाइटेड बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।




