सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कान्छो जिल्ला नवलपुर-२ मा को बन्ला विजयी ?

कान्छो जिल्ला नवलपुर-२ मा को बन्ला विजयी ?

कांग्रेस–एमाले आलोपालो हुन्थ्यो, योपटक रास्वपाले दिँदैछ टक्कर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

पोखरा/गण्डकीको कान्छो जिल्ला नवलपुर बेलाबेला प्रदेश सरकारले ध्यान दिन नसकेको गुनासो गरिरहन्छ । हुन पनि नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउन अर्कै प्रदेशको बाटो प्रयोग गर्नुपर्छ । लुम्बिनीसँग आइपाइ मिल्ने यो जिल्लाको क्षेत्र नम्बर २ त झन पश्चिम नवलपरासी र बुटवलतिर बढी आश्रित देखिन्छ ।

२०७४ सालमा अस्तित्वमा आएको यो क्षेत्रबाट त्यही वर्ष भएको चुनावमा एमालेका तिलक महतले चुनाव जितेका थिए । २०७९ को प्रतिनिधि सभाको चुनावमा चाहिँ परिणाम उल्टो आयो । नेपाली कांग्रेसका विष्णुकुमार कार्की ३६ हजार १३२ मतसहित विजयी हुँदा एमालेका तिलक महतले ३४ हजार ११० मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी शालिकराम न्यौपाने ६ हजार ४४९ मतसहित तेस्रो हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार २४६ मत प्राप्त गरे । प्रदेशसभातर्फ भने दुबै सिटमा एमालेका उम्मेदवार विजयी बने । प्रदेशसभातर्फ कांग्रेसका उम्मेदवार मैदानमा थिएनन् ।

६३ हजार ७२ महिलासहित १ लाख ३१ हजार ४४५ मतदाता रहेका यो क्षेत्रमा ६ जना स्वतन्त्रसहित १८ जना उम्मेदवार आउँदो फागुन २१ को चुनावको लागि मैदानमा छन् । उनीहरुको भाग्यको फैसला चाहिँ कावासोतीका ३,४,१५,१६,१७ वडा, हुप्सेकोट, बुङ्देकाली,विनय त्रिवेणी गाउँपालिका तथा मध्यबिन्दु नगरपालिकाका जनताले गर्नेछन् ।

२०७४ सालको चुनावमा नवलपुरबाट कांग्रेसले समानुपातिकतर्फ ७१ हजार २२५ र एमालेले ६४ हजार ११८ मत पाएको थियो । त्यो चुनावमा रास्वपा उदाएकै थिएन । रास्वपाको जननी भन्न मिल्ने विवेकशिल साझाले त्यसबखत पाएको समानुपातिक मत ३ हजार ६८३ थियो भने माओवादी केन्द्रले ९ हजार ७५८ मत ल्याएको थियो ।

२०७९ मा चाहिँ एमालेले त्यहाँबाट २९ हजार ९४, कांग्रेसले २६ हजार २५,रास्वपाले १२ हजार ९३६,राप्रपाले ४ हजार २७ र माओवादी केन्द्रले ३ हजार ५ सय १९ मत प्राप्त गरेको थियो । अघिल्लो चुनावको समानुपातिक मतलाई आधार मान्ने हो भने त्यहाँ अहिले पनि एमाले नै पहिलो शक्तिको रुपमा देखिन्छ । किनकि, अघिल्लो चुनावको प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारले पाएको मतमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका दलको मत जोडिएको थियो ।

सो क्षेत्रमा यसपटक तिलबहादुर (तिलक) महत क्षेत्रीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका ओमप्रकाश घर्ती,नेपाली कम्युनिष्ट पार्टी गणेशमान महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रुनकुमारी महतोले उम्मेदवारी दिएकी छिन् । राष्ट्रिय जनमोर्चाका विष्णु गिरी, मंगोल नेसनल अर्गनाइजेशनका निबबहादुर आले, आम जनता पार्टीकी लक्ष्मी सारु मगर, नेपाल कम्युनिष्ट पार्टी माओवादीका वसन्तप्रसाद ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका भावसिंह महतो, हाम्रो नेपाली पार्टीका कमल चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर रानासहित भरतप्रसाद वस्ती, रिमाकुमारी भुसाल, सुशीला देवकोटा न्यौपाने, सीताकुमारी लामिछाने, तोलबहादुर लुङगेली मगर र प्रेमबहादुर सिन्जाली मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेले यो क्षेत्रबाट तिलकको एकल उम्मेदवारी सिफारिस गरेको थियो । एमालेको केन्द्रीय नेतृत्वसँग निकट सम्बन्ध भएका तिलकलाई यसअघिका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुग्ध विकास बोर्डको उपाध्यक्षम नियुक्त गरेका थिए । तर, त्यो निर्णय विवादित बन्यो । तिलक सो क्षेत्रमा पकड जमाएका एमाले नेता हुन् । नेताको रुपमा उनको विकल्प नभए पनि एमालेभित्र भने उम्मेदवार चयनकै बेला विकल्प खोज्नुपर्ने र एउटैलाई पटक–पटक अवसर दिन नहुने धारणा आएको थियो । तर, त्यसो भएन । उनी योपटक जसै चुनाव जित्ने मनसुवासहित मैदानमा हुँदा परम्परागत शक्ति कांग्रेसले उनलाई टक्कर दिँदै छ । हुप्सेकोट गाउँपालिका–१, बेलुवामा जन्मेका घर्ती नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापतिसमेत हुन् । ‘विचारले जेनजी हुनुपर्छ र कांग्रेस सधैँ नवीन विचारको सूत्रपात गर्ने पार्टी हो’ भन्दै मतदाताकहाँ पुगेका उनी कांग्रेसलाई अहिले आइफोन १७ प्रोम्याक्स भएको दाबी गर्छन् ।

तर, उनलाई टक्कर दिन अहिले मैदानमा रहेका रास्वपाका मनिष खनाल पनि कम्ता छैनन् । मध्यविन्दु नगरपालिका ६ का बासिन्दा मनिष अधिवक्ता र युवा हुन् । अघिल्लो पटक रास्वपाले समानुपातिकमा प्राप्त गरेको मतलाई आधार बनाएर मैदानमा उत्रेका यी २६ वर्षीय युवा सांसदको वास्तविक भूमिका अर्थात् विधायिकी अधिकारको समुचित प्रयोग गर्न सांसदको उम्मेदवार बनेको बताउँछन् । चुनाव जितेपछि राम्रो कानून बनाउने उनको घोषणा छ ।

नेकपाले उम्मेदवार बनाएका गणेशमान महतो थारू र जनजाति आन्दोलनका अगुवा हुन् । जातीय पहिचान तथा अधिकारको पक्षमा पैरवी गर्दै आएका उनी सबै जातजातिले समान अवसर पाउँदामात्र संघीयता बलियो हुने तर्क गर्छन् । मास्टरी गरेका उनीसँग नवलपुरको मध्यवर्ती क्षेत्रमा देखिएका नदी कटान, बन्यजन्तु र मानव द्वन्द्व र आदिवासीका समस्या समाधान गर्ने बताउँछन् ।

राप्रपा पनि यो क्षेत्रमा कमजोर छैन । त्यसका उम्मेदवार रुनकुमारी महतो महिला अगुवा हुन् । राप्रपाबाट उम्मेदवारी दिएकी उनी हिन्दुराज्य र राजतन्त्रको एजेण्डासहित नै मैदानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->