म्याग्दी/लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा बेनी बजारको कालिपुल बसपार्कमा भएको लागुपदार्थ सेवन परीक्षण गर्दा चार जना चालकहरु लागुपदार्थ सेवन गरेको पाइएको थियो । लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले रघुगंगा गाउँपालिका ६ का २२ वर्षिय सुसन सुनार, भीमपोखरी गाउँपालिका ७ काभ्रेका २२ वर्षिय मिलन भुजेल, पुतलिबजार नगरपालिका १३ स्याङ्जाका २८ वर्षिय बिज्ञान थापा र भीमेश्वर नगरपालिका ७ दोलखाका २० वर्षिय सरोज तामाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार लागुपदार्थ सेवन गरी सवारी चलाएकाहरुको आवश्यक अनुसन्धान भै रहेको छ । अनुसन्धान पछि आवश्यक कार्वाही गरीने उनको भनाई छ । १५ जना सवारी चालकहरुको परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।





