शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

म्याग्दीमा निर्वाचन तयारी पुरा, सकियो कर्मचारी खटनपटन

म्याग्दीमा निर्वाचन तयारी पुरा, सकियो कर्मचारी खटनपटन

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार मतदान स्थलमा खट्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तोकिएको छ ।


  • अमृत बास्कुने
  • फाल्गुन १३ २०८२, बुधबार

म्याग्दी/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै तयारी पुरा भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार कर्मचारी तथा निर्वाचन प्रहरी खटाइएसँगै तयारी पुरा भएको हो ।

जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिने निर्वाचन प्रहरीको केन्द्र तय गरेर मतदान स्थलतर्फ खटाएको छ । मंगलबार निर्वाचन प्रहरी खट्ने स्थलको टुंगो भएर सुचना प्रकाशन भएसँगै बुधबार बिहानैदेखि आफ्नो कार्यस्थलतर्फ निर्वाचन प्रहरीहरु खटेका छन् ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खट्ने मतदान अधिकृतसहित सबै कर्मचारीको टुंगो लगाएको छ । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार मतदान स्थलमा खट्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तोकिएको हो ।

निर्वाचनमा खट्ने सबैको नामावली प्रकाशन गरिएको र १५ गते र १६ गते नियुक्तिपत्र दिएर मतदान स्थलमा खटाइने कार्ययोजना रहेको थापाको भनाई छ । सदरमुकामदेखि मतदान स्थलको दुरी अनुसार कर्मचारीहरु जाने भए पनि यहाँका सबै तयारी पुरा भएको उनको भनाई छ ।

जिल्लाका सबै मतदान स्थलको अनुगमन गर्नुका साथै सुरक्षा व्यवस्था बारेमा समेत चुस्तता दिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा पनि ल्याएको हुनाले निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । मतपेटिका ढुवानी कार्ययोजना तयार भएको समेत प्रजिअ आचार्यले बताए ।

अहिले निर्वाचनको तयारी पुरा भएको छ, अब मतदान र मतगणना मात्रै बाँकी छ । ‘कर्मचारी खटनपटन, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएपछि निर्वाचनको सबै काम सकियो । अब मतदान र मतपेटिका ढुवानी अनि गणना मात्रै बाँकी रह्यो, अरु सबै सकियो’ उनले सुनाए ।

प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गिकरण गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४४ हजार ६४ महिला, ४२ हजार तीन सय ३२ पुरुष एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->