सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकीमा चुनावको तयारी तीव्र


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

तस्बिर : खेमराज गौतम सुवास

पोखरा/मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो ।

प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए ।

मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको उनको भनाइ छ । कतिपय जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने केही जिल्लामा सुरु गर्ने तयारी छ ।

जिल्ला निर्वाचन कार्यालय, बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बुधबार र बिहीबार उक्त तालिम सञ्चालन गरिने बताए । तालिम पश्चात यही फागुन १८ गते कर्मचारी सम्बन्धित मतदानस्थलमा पुग्ने उनको भनाइ छ । गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।

‘बागलुङमा चुनावको करिब ९० प्रतिशत तयारी पूरा भएको छ’, उनले भने, ‘अब मतदानस्थल केन्द्रित तयारी अगाडि बढ्छ ।’ अहिले प्रदेशका प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन भइरहेको छ । मतदान गर्ने सही तरिका सिकाइ बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरेको हो ।

चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन हरेक जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

सम्बन्धित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरेको छ । ‘मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ’, उनले भने । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ बरालले बताए ।

एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ । गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

नवलपुरमा निर्वाचन तयारी पूरा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् ।

नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन् ।

निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए। मतदानमा खटिने मतदान अधिकृतका लागि फागुन १४ र १५ गते प्रशिक्षण दिएर मतदान केन्द्रमा खटाउने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसीलगायतका सम्पूर्ण ५१ प्रकारका निर्वाचन सामग्री जिल्लामा आइसकेको उनले बताए ।

निर्वाचनका लागि जिल्लामा करिब छ लाख मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ एक लाख ४६ हजार तथा समानुपातिकतर्फ एक लाख ५४ हजार मतपत्र आइपुगेको उनले जानकारी दिए । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि एक लाख ४१ हजार तथा समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आइपुगेको उनले बताए ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएका छन् । कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन अधिकारी शर्माले यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->