म्याग्दी/ म्याग्दीका सबै उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेर सञ्चालनमा ल्याएका छन् । म्याग्दीमा सबै १२ जना उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि बैंक खाता खोलेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताए ।
थापाका अनुसार उम्मेदवारको खर्च, आम्दानी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा खोलिएको खाताबाट गर्नुपर्ने हुन्छ । उम्मेदवारले अहिले खोलेको खाताको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालयले गर्ने छ ।
हिमाली जिल्ला भएको हुँदा म्याग्दीका उम्मेदवारले अधिकतम ३१ लाख रुपियाँ सम्म मात्रै खर्च गर्न सक्ने सीमा छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा आचारसंहिता अनुगमन अधिकारी रामप्रसाद शर्माका अनुसार निर्वाचनमा आर्थिक मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको छ । जिल्लामा आचारसंहिता अनुगमन अधिकृतमा दुई जना रहेको र एकले आर्थिक तथा अर्कोले अन्य अनुगमन गर्ने गरिएको छ ।
आचारसंहिता अनुगमन अधिकृत कुलप्रसाद आचार्यका अनुसार म्याग्दीमा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी पाँच वटा लिखित र चार वटा मौखिक उजुरी परेका छन् । सबै उजुरीहरु किनारा लगाइ सकिएको छ । एउटालाई लिखित जवाफ मागिएको र अन्य सबैलाई मौखिक रुपमा सचेत गराइएको उनको भनाई छ ।
जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ८२ मतदान स्थल, एक सय २२ वटा मतदान केन्द्र तोकिएको छ । कैदीबन्दीहरुका लागि जिल्ला कारागार शाखा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा अस्थायी मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिए । मतदानमा खटिने कर्मचारीहरुले हिजो शुक्रबारदेखि नियुक्तिपत्र बुझ्न थालेका छन् । कर्मचारीलाई शनिबार सम्म नियुक्तीपत्र बितरण गरिसक्ने सहायक मुख्य निर्वाचन अधिकृत जगत भण्डारीले जानकारी दिए ।
निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुनेछन् । त्यसैगरी एक मतदान केन्द्रमा छ जनाका दरले निर्वाचन प्रहरी खट्नेछन् । मतदान स्थल, ढुवानी र मत गणनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा दिनेछ । प्रमुख जिल्ला अधिकारी रबीन्द्र आचार्यका अनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याईएको छ । मतपत्र लगायतका निर्वाचन समाग्री आइपुगेको तथा मतदान केन्द्रकालागि आवश्यक पर्ने सामग्री प्याक गरेर ठिक्क पारिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ ।एक निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी नगरपालिकामा २२ हजार ५ सय ७८, मङ्गलामा १३ हजार ४ सय ४६, मालिकामा १३ हजार ३ सय ५५, रघुगङ्गामा १४ हजार १ सय ५८, अन्नपूर्णमा १२ हजार २९ र धवलागिरिमा १० हजार ८ सय ३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । ती मध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् ।





