सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

देश अप्ठ्यारोमा छ, विदेशीले खेल्दै छन् : प्रचण्ड

देश अप्ठ्यारोमा छ, विदेशीले खेल्दै छन् : प्रचण्ड

‘असहज परिस्थितिमा चुनाव हुँदैछ । राष्ट्रमा ठूलो संकट आएको छ । विदेशी शक्ति र तिनका दलालले देशको स्वाधीनतामाथि चुनौती खडा गरेका छन् ।’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

रोल्पा / नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रलाई संकटबाट बचाउनु पर्ने बताएका छन्  । रोल्पाको सदरमुकाम लिबाङमा नेकपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै विदेशी शक्ति र तिनका दलालहरुका कारण देश संकटमा रहेको दावी गरेका हुन्  ।

‘असहज परिस्थितिमा चुनाव हुँदैछ । राष्ट्रमा ठूलो संकट आएको छ । विदेशी शक्ति र तिनका दलालले देशको स्वाधीनतामाथि चुनौती खडा गरेका छन् ।’, पूर्वी रुकुमबाट उम्मेदवार समेत बनेका प्रचण्डले भने, ‘राष्ट्रलाई बचाउन चुनाव भन्दा अर्को उत्तम विकल्प थिएन र  छैन पनि ।’

निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित हुनुपर्ने नेता प्रचण्डको दावी छ । ‘सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग सबैले निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित गराएर राष्ट्रको स्वाधीनता र स्वाभिमान जोगाउनु पर्छ’, चुनावी सभाका प्रमुख अतिथि समेत रहेका प्रचण्डले भने । सेना, सशस्त्र र जनपद प्रहरीप्रति नेकपाको पुर्ण भरोसा रहेको भएपनि भदौ २३ र २४ गतेको घटनाले भने सबैलाई झस्काएको स्मरण गराए ।

जेनजी आन्दोलन पश्चात् भएको निर्मम दमन र विध्वंसको दुई अतिवादका विरुद्ध प्रतिवाद गर्न सबै नेपालीलाई अपिल समेत गरे । असहज स्थितिमा भैरहेको चुनावबाट मुलुकलाई नयाँ समाजवादी बाटोमा अघि बढाउने तागत लिन आफू आधार इलाका आउने गरेको दावी गरे । युद्धताका रोल्पा, रुकुम, जाजरकोट र सल्यान आधार इलाका रहेको स्मरण गर्दै उनले यहीँ ठाउँबाट नयाँ समाजवादी यात्राको थालनी गर्ने जिकिर गरे । त्यसकै लागि पुर्वी रुकुमबाट चुनावमा भग लिएको पनि बताए ।

null

२०६४ को पहिलो संविधान सभाको चुनावमा रोल्पाबाट विजय भएपछि पहिलो पटक प्रधानमन्त्री भएकाले रोल्पालीप्रति आफू ऋणी भएको भन्दै नेकपाका संयोजक प्रचण्डले नयाँ परिस्थितिमा आधार इलाकाको थप तागत आवश्यक रहेको दावी गरे ।

आफूहरु प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा रहेको भन्दै प्रचण्डले चुनावपछि संसदमा त्यसको पक्षमा उभिने समेत बताए । ‘हामीले यति महँगो चुनाव चाहेकै होइन । प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक निर्वाचनका पक्षमा लडिरहन्छौं’, प्रचण्डले भने, ‘जेनजीले भने जस्तै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनामा अघि बढ्नेछौं ।’

पूर्व अर्थमन्त्री एंव नेकपाका नेता रोल्पा क्षेत्र नं. १ का उम्मेदवार वर्षमान पुनलाई रोल्पाबाट विजयी गराएर पठाउन अपिल समेत गरे । ‘वर्षमानजी मैले विश्वास गरेको व्यक्ति हो । रोल्पाबाट विजयी बनाएर पठाउनुस, उहाँलाई कहाँ के बनाउने हो त्यो मेरो जिम्मेवारी भयो’, प्रचण्डले भने । उम्मेदवार पुनले रोल्पामा सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्यमा उल्लेख्य काम भएको दावी गर्दै तिनको पूर्णताका लागि अझै आफूलाई विजयी गराउन आव्हान समेत गरे ।

हेलिकप्टरबाट चुनावी सभालाई सम्बोधन गर्न रोल्पाको लिबाङ आएका प्रचण्डले २० मिनेट मन्तव्य दिएर रुपन्देही गएका छन् । रोल्पाका गाउँगाउँबाट बस, जीप र मोटरसाइकलमा नेता, कार्यकर्ता र जनता सभामा आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->