म्याग्दी/निर्वाचन सामग्री बुझेर मतदान स्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदान स्थलमा सर्वदलिय बैठक सम्पन्न गरेका छन् । जिल्लामा कुल ८२ मतदान स्थलमा दुई अस्थायीसहित एक सय २२ मतदान केन्द्र रहेका छन् ।
१८ गते नै मतदान स्थल पुगेर सुचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलिय बैठक सम्पन्न गरेका हुन् । निर्वाचन पूर्वका अरु सबै काम पुरा भएको र मतदान स्थलको व्यवस्थापन र मतदानको काम मात्रै अब बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाका अनुसार, जिल्लाका सबै मतदान स्थलमा कर्मचारी पुगिसकेको र सर्बदलिय बैठक गरेको जानकारी आएको छ । थापाले जिल्लाका सबै मतदान स्थलमा पुगेका कर्मचारीले हिजो सुचना टाँस गर्नुका साथै आज सर्वदलिय बैठक गरी मतदान स्थल निर्माण गर्न थालेको बताए । बुधबारसम्म मतदान स्थल तयार गरेपछि २१ गते मतदान हुनेछ ।
मतदानपछि ढुवानी र गणना स्थलको पनि तयारी गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा मतपेटीका भण्डारण र गणनाका लागि तयारी थालिएको हो । तारवार सहितको मतगणना स्थल निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् ।
एक जना स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
म्याग्दीमा बेनी नगरपालिका–२ खबरास्थित कारागारमा रहेका कैदीबन्दी, बेनी नगरपालिका–९ गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक तथा सरकारी कर्मचारीहरु गरी एक हजार आठ सय ५८ जना अस्थायी मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि आयोगबाट स्वीकृत कार्यक्रम र जिल्ला अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिको निर्णय अनुसार उक्त संख्यामा मतदाता कायम भएका थिए ।





