काठमाडौं / भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् ।
एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ । तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।
सुरक्षाकर्मीदेखि, स्रोत साधन सबै कोणबाट पूरापुर तयारी भइसकेकाले बिना त्रास शान्तिपूर्ण वातावरणमा मतदान गर्न अवस्था बनेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओम प्रकाश अर्यालले यसपालीको निर्वाचन पहिला भन्दा सुदृढ तरिकाले स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्मपन्न हुने बताएका छन् ।
‘भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं । अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर सुदृढ गर्छ,’ गृहमन्त्री अर्यालले भने । निर्वाचन बिथोल्न खोज्ने समूहका व्यक्तिहरू पक्राउ पर्नेदेखि केही ठाउँहरूमा राखिएका शंकास्पद वस्तु, विस्फोटक पदार्थहरूलाई सुरक्षा निकायले बेलैमा पहिचान गरेर डिस्पोज गरेका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन बिथोल्न खोज्ने समूहमाथि निमर्म भएर प्रस्तुत हुन निर्देशन समेत दिएका छन् ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने नेपाली सेनाबाट ७९ हजार ७२७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५७६, गुप्तचरबाट १ हजार ९२१ जना खटिएका छन् । त्यस्तै निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन् ।
जसमा सादा पोशाकका टोली पनि चरिचालन गरिएको छ । उनीहरूले सम्भावित जोखिमको सूचना संकलन गर्ने काम गर्छन् । उक्त सूचनाका आधारमा सुरक्षा निकायले अपरेशन गरेर काम गर्नेछन् ।





