सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

देशभर मतदान जारी, मतदाताको उत्साहजनक सहभागिता

देशभर मतदान जारी, मतदाताको उत्साहजनक सहभागिता

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार
बागलुङ नगरपालिका-७ स्थित विश्वकर्मा मावि केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर: रन्जिता शर्मा

पोखरा / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान देशभर नै सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताको उत्साहपूर्ण सहभागिता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। आयोगले तोकेको समयभित्र मतदानस्थल परिसरमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।

एक निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिइन्छ र प्रत्येक दलले प्राप्त गरेको कूल मत सङ्ख्याको अनुपातमा सो दलका तर्फबाट उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित हुने व्यवस्था छ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानमा सहभागी हुँदैछन्। त्यसका लागि १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। १४३ अस्थायी मतदान केन्द्रमा करिब डेढ लाख मतदाता प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदानमा सहभागी हुँदैछन्।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->