
म्याग्दी/म्याग्दीमा मतगणना शुरु भएको छ । शुक्रबार बिहान सर्वदलिय सर्वपक्षीय बैठक पछि मतगणना शुरु भएको हो । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा र २ लुलाङको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।
धवलागिरी गाउँपालिका १ गुर्जाको जनकल्याण मावि मतदान केन्द्र र धवलागिरी गाउँपालिका २ को लमसुङ मावि मतदान केन्द्रको मतगणना शुरु भएको हो ।
म्याग्दीमा बिहीबार भएको मतदानमा ४६ हजार दुई सय १५ मत खसेको थियो । जिल्लाको कुल ८६ हजार तीन सय ९५ मतदाता रहेका थिए । दुई वटा समूह बनाएर गणना गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । मतगणना पूर्व सर्वदलिय बैठक बसेर विविध निर्णय गरेको थियो ।
एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवार रहेको म्यग्दीमा मुख्य रुपमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, कांग्रेसका कर्णबहादुर भण्डारी, स्वतन्त्र उम्मेदवार महाविर पुनलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।





