पोखरा / प्रतिनिधि सभामा देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधाभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिवार बिहान साढे ८ बजे सार्वजनिक गरेको तथ्याँकमा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले करिव १८ प्रतिशत मतमात्रै पाएको छ । एमाले र राप्रपा करिव–करिव ८/८ प्रतिशतको नजिक छन् । एमाले र राप्रपाबिच करिव ५० मतको फरकमात्रै छ ।
निर्वाचन आयोगले देशव्यापी संकलन गरेर अद्यावधिक गरिरहेको यो विवरण निकै प्रारम्भिक हो । कुल खसेको मतको एक प्रतिशत पनि गणना नभएका बेलामा यस्तो प्रारम्भिक आँकडा सार्वजनिक भएको हो ।
अहिलेसम्मको आँकडामा रास्वपा, कांग्रेस, एमाले र राप्रपा बाहेक अरुले ३ प्रतिशत मत कटाएका छैनन् । समानुपातिक प्रणालीमा सांसद पद दावी गर्न ३ प्रतिशत मत कटाउनुपर्छ ।





