पोखरा / मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो दुर्घटनामा परी घाइते भएका ९ जनालाई उपचारका लागि चितवन लगिएको छ ।
शनिबार राती गोरखा जिल्लाको शहिदलखन गाउँपालिका-३ कनटारमा भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये ३ जना पुरुष र ६ जना महिला रहेका छन्। उनीहरूलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
मनकामना दर्शन गरेर फर्किँदै गरेको बाग्मती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। माइक्रोमा चालकसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखा र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। दुर्घटनामा मृत्यु हुनेमा २ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।





