बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक समारोह आयोजना गरेर पुरस्कृत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको विद्यालयले शैक्षिक तथा खेलकुदका गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो । नगर तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र काश्य पदक जित्न सफल खेलाडीलाई क्रमशः नगद ८ हजार ६ हजार र ४ हजारसहित ट्र्याक सुट प्रदान गरिएको थियो । पदक विजेता उत्कृष्ट खेलाडीहरूलाई विद्यालयले प्रोत्साहन स्वरूप शतप्रतिशत र ५० प्रतिशत छात्रवृत्ति समेत घोषणा गरेको प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।
त्यस्तै गण्डकी प्रदेश स्तरीय हिसान कप फुटसल प्रतियोगितामा कास्कीबाट उपाधि जितेर बागलुङकै साख जोगाउन सफल खेलाडीलाई पनि नगद र पोसाकसहित सम्मान गरिएको थियो । युनिभर्सल सवलाइम एकेडेमीको २३ औँ वार्षिक उत्सवमा आयोजित आधारभूत विद्यालय स्तरीय रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु नगद र प्रमाणपत्रबाट सम्मानित भए ।
आठौँ बागलुङ महोत्सवको कथावाचन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको प्राथमिक तह संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिए । कार्यक्रममा विभिन्न विधाका खेल प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले विद्यार्थी र विद्यालयको शैक्षिक विकासका लागि पुरस्कार र सम्मान कार्यक्रमले टेवा पुर्याउने बताए । विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयको कुशल व्यवस्थापन र खेलाडीहरूको अथक मेहनतले खेलकुद क्षेत्रमा चिल्ड्रेन लाइफले उल्लेख्य योगदान पु¥याउन सफल भएको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।





