शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नागरिकको दैनिकीमा समस्या आउन नदिने सरोकारवालाको निष्कर्ष

नागरिकको दैनिकीमा समस्या आउन नदिने सरोकारवालाको निष्कर्ष


  • ढाेरपाटन संवाददाता
  • चैत्र ३ २०८२, मंगलबार

बागलुङ/मनसुनजन्य विपत व्यवस्थापन र मध्यपुर्वमा देखिएको समस्याबाट सिर्जित दैनिक उपभोग्य वस्तुको अभावबाट समाजलाई सुरक्षित बनाउने काममा पूर्व सतर्कता अपनाएर जाने जिल्लाका सरोकारवालाले निर्णय गरेका छन् ।

सोमबार भएको साझा बैठकमा विपत व्यवस्थापनको पूर्व तयारी र नागरिकको दैनिकीमा आइरहेको जटिलताबारे छलफल भएको हो । उनीहरुले दैनिक उपभोग्यमध्ये पेट्रोलियम पदार्थ र एलपी ग्यास लगायतको अभाव हुन नदिने उपायको खोजी गरेको बताए ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, सरोकार राख्ने सबैखाले कार्यालयका प्रतिनिधिले छलफल गरेर आगामी दिनमा कुनैपनि समस्या आउन नदिने गरी काम गर्ने प्रतिवद्दता समेत जनाएका छन् ।

अघिल्ला वर्षमा भएका विपतजन्य समस्याका पीडितले अहिले पनि घर बनाएर बस्न नसकेकोले उनीहरुको समस्या कसरी समाधान गर्ने भन्नेमा धेरैको चासो थियो । ‘५ वर्ष अघिको बाढीबाट पीडितहरुले ढोरपाटनमा घर बनाउन सकेका छैनन्, बनाएकाहरुले पनि राज्यको साथ पाएनन्’ ढोरपाटन नगरपालिकाका कावा प्रमुख धनबहादुर कायतले भने, ‘राज्यको नीति अनुसार केही साथ र सहयोग पाउने भए दिऔं नपाउने भए यो कारणले नपाएको बताइदिनुपर्छ ।’

अघिल्लो जनप्रतिनिधिको पालामा दिनुपर्ने राहत अझै नपाएको, घरहरु बनाउन नसकेको कारण अहिले पनि समस्या झेल्नुपरेको उनले बताए । यो समस्या समयमा समाधान नभए अझै पछिका जनप्रतिनिधिले पनि नागरिकका मागको सामना गर्नुपर्ने उनको भनाइ छ ।

ढोरपाटनमा १ सय २६ बढी घरपरिवार बाढी पहिरोको पीडित थिए । ती मध्ये २० जना भन्दा कमले मात्रै पुर्ननिर्माणको लागि पहिलो किस्ता लगेका छन् भने घर बनाएकाहरुले पनि राहत नपाएका हुन् । किस्ता लगेकाहरुले पनि मापदण्ड पुरा नगरेकोले दोश्रो किस्ता समेत लगेका छैनन् । त्यस्तो समस्या परेकाहरुबाट राज्यले उल्टै बेरुजु भएकोले सरकारी बाँकी सरह फिर्ता गर्न खोजेपछि स्थानीय झन् चिन्तित छन् ।

अन्य पालिकामा पनि पीडितले समयमा राहत नपाएको, कतिपयको सूचिकरण पनि नभएको गुनासो छ । तमानखोलाका पीडितले अहिले पनि सूचिकृतको बाटो हेरेर बसेको अध्यक्ष जोकलाल बुढाले बताए । तोकेको मापदण्ड पुरा गर्न झन्झट भएपछि जैमिनी नगरपालिकाले घरबारविहिनलाई आफ्नै नीतिमार्फत साथ दिएर घर बनाउन पहल गरेको उपप्रमुख हरिहर शर्माले बताए ।

बजारमा पछिल्लो समय देखिएको दैनिक उपभोग्य वस्तुको उपलब्धताबारे भने सक्दो प्रयास गरेर सहजीकरण गर्ने निर्णय भएको सहायक प्रजिअ नवराज बरालले जानकारी दिए । उनका अनुसार, बजार अनुगमनलाई प्रभावकारी बनाउने, सदरमुकाम मात्र नभइ जिल्ला भरीका उपभोक्ताको अवस्था बुझ्ने, साना र ठूला व्यवसायीको गोदाम अनुगमन गरेर जनतालाई समतामुलक रुपमा सामाग्रीको उपलब्धता गराउने निर्णय भएको हो ।

कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्यमा भएको घटीबढीलाई लिएर जनतालाई सास्ती दिने काम नगर्न सल्लाह दिने निष्कर्ष निकालिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् । बजारमा मूल्य बढाउने, सामान नपाउने जस्ता काममा प्रशासनिक रुपमा सहजीकरण गरिनुपर्ने सुझाव पनि दिइएको उनको भनाइ छ ।

मूल्य बढ्ने र त्यसको तयारी स्वरुप अत्यावस्यक सामान नपाउने अवस्था भैरहेको सरोकारवालाको भनाइ छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सामाग्रीको गुणस्तर र आयतबारे पनि अनुगमन गरिने बताए । ‘एक लीटर पेट्रोलियम पदार्थ भन्दै गर्दा यकिन छ की छैन भन्ने मापन गर्दैर्छौ’ आचार्यले भने, ‘सामान्य लाग्ने स्थानमै उपभोक्ता ठगिएको पाइएको छ ।’ त्यसको प्राविधिक जनशक्ती ल्याएर पेट्रोलियम पदार्थ, एलपी ग्यास, अन्य उपभोग्य सामाग्रीको अनुगमन गरिने भएको उनले बताए । सामाग्रीको गुणस्तरमा आम उपभोक्ताहरु सचेत बन्नुपर्ने उनले बताए ।

मध्यपुर्वमा देखिएको समस्याले दैनिक उपभोग्य सामानमा असर नपरेको र राज्यले पनि त्यस्तो नभनेकोले आम नागरिकलाई ढुक्क हुन समेत जिल्ला विपत व्यवस्थापन समिति र जिल्ला आपुर्ति व्यवस्थापन समितिले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->