बागलुङ/विद्यामन्दिर माविले आगामी सत्रमा सुधार गर्न सक्ने संभावनाबारे अभिभावक, पूर्वप्रअ,व्यवस्थापन समितिका पूर्व पदाधिकारीबीच छलफल गरेको छ । केही समयदेखि राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शीताको अभाव जस्ता समस्याले झेलिएको विद्यामन्दिरलाई सुधार गर्न व्यवस्थापन समितिले यो काम गरेको हो ।
विद्यालयका शुभचिन्तकहरुले अबका दिनमा राजनीतिक हस्तक्षेपबाट विद्यालय मुक्त गर्नुपर्ने, शिक्षकहरुबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने र पुर्वाधारसँगै गुणस्तरमा पनि लाग्नुपर्ने सुझाव दिएका छन् । विद्यालयका पुर्व प्रअ जगन्नाथ आचार्यले भूकम्पबाट ग्रसित विद्यालयको भौतिक पूर्वाधार बनिसकेकोले अबका दिनमा गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे । ‘अब भोलिका दिनमा पनि सयौं विद्यार्थी अड्याउने शिक्षा चाहिएको छ,’ आचार्यले भने, ‘त्यसकालागि अहिले देखिनै मेहेनत गरेर शिक्षाको नमूना विद्यालय बनाउन सकिन्छ ।’ त्यसका लागि विज्ञान प्रविधिसहित विभिन्न आधुनिक शिक्षाका प्रणाली उपयोग गर्न उनले सुझाए ।
विद्यालयका पुर्व शिक्षक तथा धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतमले क्यामपसको जनशक्तिलाई उपयोग गर्ने र यहाँका उत्पादन क्याम्पसमा जाने बनाउन सकिने बताए । उनले इतिहास बनाएको विद्यालयलाई भविष्य सुधार्ने अवसर पनि आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, शिक्षक भीमप्रसाद गौतमको संचालन र प्रअ छविरमण रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व प्रअहरु इश्वरलाल बज्राचार्य, दिपकज्योती श्रेष्ठ, पूर्वशिक्षक मनकुमारी केसी, पूर्वअध्यक्ष कृष्णराज शर्मा, क्याम्पसका व्यवस्थापन बीबीए विभाग प्रमुख विप्लव शर्मा लगायतले सुझाव दिएका थिए ।
उनीहरुको सुझाव अनुसार विद्यालयमा सुधार ल्याउने, राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने जस्ता प्रतिवद्धता अध्यक्ष श्रेष्ठले जनाएका छन् । बैसाखदेखि नयाँ शैक्षिक शत्र शुरु हुँदैछ । यो पटकको सत्रलाई नमूना शत्र बनाउने लक्ष्य उनले सुनाए । त्यो कामकालागि अभिभावक र सरोकारवालाको साथ चाहिएको उनको भनाइ छ । त्यसका लागि हालको अवस्था चित्रण, इतिहास खोज्ने र भविष्य बनाउने उनको योजना सार्वजनिक भएको छ ।





