पोखरा/मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्ड अन्तर्गत कास्कीका विभिन्न स्थानमा परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ ।
कास्कीको लुम्लेदेखि नयाँपुल सम्मको सडकमा खाल्डाखुल्डीको र सडकै भासिने समस्या बढी रहेको त्यस रुटमा जीप चलाउने चालक ओमबहादुर कुँवरले बताए । ‘निर्वाध रुपमा गाडी चलाउन सक्ने अवस्था छैन’, उनले भने, ‘ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन् । खाल्डा जोगाएर जीप चलाउनु पर्छ । गाडी छिटै बिग्रने संभावना हुन्छ ।’ सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको उनले बताए ।
लुम्लेको घुम्तीदेखि ढाँवा क्षेत्र, गिरीचोक, नयाँपुलमा अहिले राजमार्ग नै होकी होइन जस्तो गरी सडकमा खाल्डाखुल्डी परेका छन् । केही स्थानमा सडकै भासिएको छ । सडक भासिने समस्या भने राजमार्ग बनेदेखि नै हो । सही समाधानको उपाय नखोज्दा सडक भासिदैँ आएको छ । भत्किएको सडक मर्मत नहुँदा धुलोको समस्या रहेको छ ।
यसअघि कास्कीको फेदीदेखि लुम्लेसम्म पनि सडकमा ठूला र धेरै खाल्डाखुल्डी परेका थिए । त्यसलाई गत मंसिरमा पुरिएको थियो । ‘लुम्ले–नयाँपुल खण्डमा खाल्डा परेका छन् सडक भासिएको छ, त्यस ठाउँको भूगोलै कमजोर भएर बारम्बार समस्या आइरहेको छ,’ सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर पुजन श्रेष्ठले भने, ‘मर्मतका लागि ठेक्का सम्झौता भइसकेको छ । केही दिनमै काम सुरु हुन्छ ।’ उनका अनुसार चुनाव अघि सम्झौता भएको छ । चुनावका कारण काम हुन नसकेको र अव छिटै मर्मतको काम थालिने उनले बताए । शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको छ ।
मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन एकैचोटी असम्भव देखिएको उनले बताए ।
लुम्ले नयाँपुल खण्डको केही सडक वर्षेनी दव्ने समस्याले गर्दा सडक विग्रने गरेको श्रेष्ठको भनाई छ । त्यसका लागि बृहत अध्ययन र सोही अनुसार ठूलै रकम आवस्यक पर्ने उनले बताए । ‘सडक बनेदेखि नै दविने समस्या देखिएको छ’, ईन्जिनियर श्रेष्ठले भने, ‘मध्यपहाडी लोकमार्ग आयोजनाले लिएपछि २÷३ वर्ष राम्रै भएको थियो । पछि फेरी सडक दब्ने समस्या यथावत् छ ।’
सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम बढेको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्ने गरेका छन् ।





