शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘मिसाइल पड्केको आवाज आए पनि भित्र सबै सुरक्षित छौं’

‘मिसाइल पड्केको आवाज आए पनि भित्र सबै सुरक्षित छौं’

‘बेलाबेला बम पड्केको आवाज सुनिन्छ, तर यता आउने सबै बस्तु डिस्पोज पारिन्छ,’ रामप्रसाद शर्माले भने, ‘हामीले नियमित काम गरिरहेका छौं ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८२, शुक्रबार

बागलुङ/झण्डै १७ लाख बढी नेपाली खाडी मुलुकमा काम गर्दैछन् । वर्षौदेखि नेपालीहरुको मुख्य आयश्रोतको रुपमा खाडीको रोजगारी रहेको छ । तर, एक महिनादेखि इजरायल र इरानबीचको द्वन्द्वले खाडीमा तनाव भएको छ । उक्त खबरपछि धेरै मानिसहरु आफन्तबारे चिन्ता गर्छन् । तर, खाडीमा काम गरिरहेका नेपालीले भने धेरै चिन्ता नलिन परिवारका सदस्यलाई भनिरहेका छन् । काम गरिरहेको स्थानमा सुरक्षित रहेको जनाएका छन् ।

बागलुङ नगरपालिका–७ की यशोदा शर्माले दुबइमा काम गर्ने पति रामप्रसादलाई फोन गरेर सञ्चो बिसन्चो सोध्दा सहज वातावरण रहेको बताए । नेपालमा आएको सूचनाझै समस्या नपरेको खबरपछि उनीहरु ढुक्क छन् । सामाजिक सञ्जालमा आएका सूचनाले परिवारका सदस्यमा बढी तनाव थियो । तर, वास्तविकता नभएको कुरा भिडियो कल गरेर जानकारी गरेपछि परिवारका सदस्य ढुक्क छन् । ‘सुरुमा त हाम्रो होस गुमेको थियो, अहिले उहाँ ढुक्क भएको देखेपछि हामीलाई पनि आनन्द लागेको छ,’ शर्माले भनिन्, ‘घरमा पूजा थियो, जे जस्तो भएपनि आइदिए हुन्थ्यो भन्ने लाग्यो र बोलाएँ, तर जहाज नचलेकोले आउन भने पाउनु भएन ।’ शर्माले भिडियो कलमै सबै नेपाली दुबइमा सुरक्षित रहेको बताए ।

छिमेकी देशमा भएको आक्रमणले केही तनाव भए पनि भौतिक क्षति नभएको उनको भनाइ छ । ‘बेलाबेला बम पड्केको आवाज सुनिन्छ, तर यता आउने सबै बस्तु डिस्पोज पारिन्छ,’ शर्माले भने, ‘हामीले नियमित काम गरिरहेका छौं ।’ खुला स्थानमा नहिंड्न सरकारले आव्हान गरेको छ भने राजदूतावासले केही अप्ठ्यारो परे खबर गर्न भनेको उनले बताए ।

विशेषगरी कतार र दुबइमा काम गर्नेहरुले आन्तरिक सुरक्षा प्रणाली मदबुत भएकोले समस्या नपरेको बताए । ती देशले मिसाइलहरु निस्तेज पार्ने प्रविधि विकास गरेकोले दुर्घटनाहरु नभएको बताए । बरु ती देशका सरकारले खुला आवतजावतमा रोक लगाइ खानपानका लागि चाहिने सामग्रीसमेत सहजै उपलब्ध गराएको बताए ।

सुरक्षाको प्रबन्धभित्रै गराएकोले सबै सुरक्षित बस्न पाएको कतारमा काम गर्दै आएका सन्तोष क्षेत्रीले बताए । ‘यहाँको सरकारले विशेष नियम बनाएर लागू गरेको छ, त्यो नियम पालना गर्दा कतै समस्या छैन,’ क्षेत्रीले भने, ‘अनावश्यक बाहिर नगए केही फरक पर्दैन ।’

नेपाली राजदूतावासले पनि नेपालीलाई अप्ठ्यारो पर्दा खबर गर्न सूचना जारी गरेको छ । कतारका हरेक कम्पनीले घरभित्रै बसेर काम गर्न भनेकोले अधिकांश कामदारले नियमित काम गरेको उनले बताए । बाहिरका निर्माणको काम रोक्न लगाएकोले त्यस्तो क्षेत्रका कामदार पनि खानेबस्ने गरेर भित्रै रहेको उनले जानकारी दिए ।

‘भिजिट भिसामा आएकाहरुलाई स्वत म्याद थप गरिएको छ, उनीहरुलाई शुल्क पनि नलाग्ने व्यवस्था सहितको सरकारी सूचना आएको छ,’ क्षेत्रीले भने, ‘श्रम स्वीकृति बिना काम गर्नेहरु नभएकोले राज्यले नै सबै सुरक्षा दिएको छ ।’ उनले नियमित रुपमा परिवारका सदस्यलाई खबर गरेको पनि बताए ।

हजारौं नेपालीले काम गरिरहेकोले गैरआवासीय नेपालीहरुको संस्था, विभिन्न जिल्लाका सम्पर्क समाज समेतले खाडीमा आइपर्न सक्ने समस्याबारे चासो राखेर नियमित सम्पर्कमा रहन सन्देशहरु पठाइरहेको पनि उनले जानकारी दिए ।

बागलुङस्थित आप्रवासी स्रोत केन्द्रकी परामर्शदाता गंगाकुमारी शर्माका अनुसार नियमित सम्पर्कमा रहेर अप्ठ्यारोमा पर्नेलाई सहयोग गर्न तयारी गरिएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले पनि सम्पर्क गरेर सबैको परिवारमा समेत ढुक्क रहन सूचना प्रवाह गरेको छ । ‘हामीले सोचेजस्तो समस्या कतै परेको छैन,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘गाउँका परिवारलाई पनि उचित सल्लाह दिने काम भैरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->