शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङबाट दूर रहेन धर्तीकी अप्सरा रारा !

बागलुङबाट दूर रहेन धर्तीकी अप्सरा रारा !

‘बागलुङ भएर रारा र शे–फोक्सुण्डो जान सकिन्छ भन्ने मलाई समेत थाहा थिएन, आएका पर्यटकले सोध्दा पनि अचम्म लाग्थ्यो’ होटल संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने, ‘अहिले त धेरै पर्यटक आएर बस्ने र यात्रा तय गर्ने गरिरहेका छन् ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

बागलुङ/कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल संसारकै आर्कषक ताल तथा पर्यटकीय क्षेत्रमा गनिन्छ । केही वर्ष अघिसम्म गण्डकी, बागमती, कोशी र मधेध प्रदेशका जनताका लागि त यो आकासको फल आँखा तरी मर जस्तै थियो ।

मध्यपहाडी लोकमार्गको पहुँच विस्तारले रारा अब टाढा छैन भन्ने भनाइ पुष्टी भएको छ । मध्यपहाडीको बाटो बागलुङको बसाई गर्दै यात्रा गर्नेले रारा र डोल्पाको शे–फोक्सुण्डो ताललाई पर्यटकीय गन्तव्य बनाउन थालेका छन् ।

काठमाण्डौंको साँखुका सुजन मल्ल अघिल्लो महिना डोल्पाको शे–फोक्सुण्डो र मुगुको रारा ताल घुम्न बागलुङको बाटो भएर आए । एक दिन बागलुङमै बसेर उनी र उनको टिम मोटरसाइकलमा रारा हुईकियो । उनका साथीहरु निकेस गुरुङ, विपिन गौतम, आयुष थापा, राजदर्शन कटुवाल लगायतको टोली बागलुङ बस्न पाएर रमाए ।

कालीका मन्दिर दर्शन गरेपछि मध्यपहाडीको बाटो उनीहरुले ढोरपाटन हेर्दै रारा र शे–फोक्सुण्डोको यात्रा गरेका थिए । यसअघि एक साताबढी लाग्ने भएकोले निस्कन नपाएका युवाहरुले लोकमार्गको बाटो भएर पहिलो पटक यात्रामा निस्केका थिए । उनीहरुले अध्ययन गरेर बागलुङको बाटो यात्रा गर्दा छोटो दुरीमा गन्तव्य पुग्न सकिने पत्ता लगाएको बताए ।

यात्रा गरेर फर्केपछि उनीहरुले यो मार्गबाट शे–फोक्सुण्डो पुग्न सहज भएको निकेश गुरुङले बताए । छोटो समयमा डोल्पा र मुगु घुमेर उनीहरु फर्केका छन् । यो यात्रामा बागलुङ ट्रान्जिट बनाएको फर्केपछि अन्य साथीलाई पनि बताए । उनकै नाम लिएर अन्य दुईवटा समूह होटल खोज्दै आएको होटल व्यवसायी निलेस राजभण्डारीले बताए ।

मध्यपहाडी लोकमार्गले कर्णालीका जिल्ला छोएर सुदुरपश्चिम पुगेपछि शे–फोक्सुण्डो र रारा तालसम्म पुग्नेले पनि यो मार्ग रोज्न थालेका हुन् । ‘बागलुङ भएर रारा र शे–फोक्सुण्डो जान सकिन्छ भन्ने मलाई समेत थाहा थिएन, आएका पर्यटकले सोध्दा पनि अचम्म लाग्थ्यो’ होटल संघ बागलुङका अध्यक्ष राजभण्डारीले भने, ‘अहिले त धेरै पर्यटक आएर बस्ने र यात्रा तय गर्ने गरिरहेका छन् ।’ मोटरसाइकल र जिप रिजर्भ गरेर आउनेहरुले बागलुङलाई पहिलो बसाई र घुम्ने स्थान बनाएको उनले बताए ।

राजधानीदेखि चितवन, हेटौडासहित पुर्वका पर्यटकले पश्चिम यात्रा गर्दा लोकमार्गलाई रोज्न थालेका छन् । सार्वजनिक बसको यात्रा गर्नेले समेत बागलुङ हुदै मध्यपहाडीको बाटो रुकुम र जाजरकोट जाने गरेका हुन् । मुक्तिनाथ जाने तथा उपल्लो मुस्ताङ हिंडेका यात्रीले समेत बागलुङलाई एक रातको बसाइमा जोड्न थालेका छन् ।

बागलुङ पर्यटन विकास समितिले पनि ‘मुस्ताङको गेट’ भन्दै बागलुङबाट रिजर्भ गर्न खोज्नेलाई जिप र बसको सवारी व्यवस्थापन समेत गरिदिन थालेका छन् । बागलुङ बजारसम्म सार्वजनिक यातायातमा आइपुगेकाहरुले पनि ढोरपाटन, मुस्ताङ र कर्णालीका धेरै स्थानको भ्रमणमा बागलुङलाई प्रस्थान बिन्दुको रुपमा लिन थालेको बताए । यहाँका होटलले ती स्थान सम्मको नक्सा समेत लेखेर राखिदिएका छन् ।

पर्यटक आउने क्रम बढ्दा बागलुङ बजार, गलकोट र बुर्तिवाङसम्म दर्जनौ होटल थपिएका छन् । पछिल्लो चार वर्षमा यहाँ आधा दर्जन ठूला होटल थपिएका छन् भने दर्जनौं मझौला होटल पनि बनेका छन् । ती होटल पनि स्तरीय बन्दै गएपछि पर्यटक भरिन थालेका छन् । समूहमा आएकादेखि छिटफुट आउने झण्डै ३ हजार पर्यटक बागलुङ बजारमै सहजै राख्न सकिने राजभण्डारी बताउँछन् । यहाँ अझै केही होटल निर्माणाधिन छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सुविधासम्पन्न होटल संचालनमा ल्याएपछि पोखरा बस्नेहरुले पनि बागलुङलाई गन्तव्य बनाउन थालेका हुन् ।

होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले आम नागरिकमा घुम्ने संस्कृतिको बिकास भएकोले बागलुङ पर्यटकहरुको ट्रान्जिट बन्दै गएको बताए । ‘पछिल्लो समय युवाहरुमा घुम्ने संस्कृति धेरै विकास भएको छ त्यसमा बागलुङ कालीका र पञ्चकोट तथा ढोरपाटनले थप आर्कषण बढाएको छ’ उनले भने, ‘बागलुङका केही गन्तव्य घुम्न बास बस्ने गरी आउनेहरु बढेका छन् ।’

ढोरपाटन र बुकी घुम्ने पनि बढेका छन् । उनीहरुले पनि बागलुङ बजारलाई पहिलो गन्तव्य बनाउन थालेका हुन् । ढोरपाटन सदरमुकाम बागलुङ बजारदेखि १ सय २६ किमी पश्चिममा पर्छ । मध्यपहाडी लोकमार्गले कर्णालीका बासिन्दाको राजधानी लगायतको यात्रा समेत छोटो बनाएको छ । बागलुङदेखि सिधै रुकुम, जाजरकोट, दैलेख, डोल्पातर्फ जान सकिने भएपछि तराइ झर्ने झण्झट हराएको छ । ती स्थानबाट सिधै राजधानीका लागि बागलुङ हुदै मध्यपहाडी लोकमार्गमा नियमित रात्री तथा दिवा बस संचालनमा छन् । रिर्जभ गरेर हिंड्नेले पनि यो खण्डलाई उपयोगमा ल्याएका हुन् ।

बागलुङमा बसेका यात्री अर्को दिन सिधै रुकुम पश्चिम वा जाजरकोटसम्म पुगेर बस्न सक्छन् । कतिपयले बागलुङबाट एकैदिनमा डोल्पा पुगेर बस्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->