बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको संसारकोटमा एक करोड २५ लाखको लगानीमा मोक्षदेवी भगवतीको मन्दिर, सत्तल, मोटरबाटो, पैदलमार्ग, पाँच ओटा चौतारी, खानेपानी, मन्दिरको घेराबार लगायतका संरचना निर्माण गरिएको छ ।
संघिय सरकारको पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पुरातात्विक विभाग, बागलुङ नगरपालिका र स्थानीयबासीको श्रमदानबाट संसारकोटमा मन्दिर लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।
चैतेदशैको नवरात्रमा मन्दिरको उद्घाटनसंगै मुर्ति प्रतिस्थापना समेत गरिएको छ । २०७४ सालमा स्वामी कमलनयनाचार्यको परिकल्पनामा मोक्षदेवी भगवतीको मन्दिर, सत्तललगायतका पर्यटकीय संरचना निर्माण गरिएको संसारकोट संरक्षण व्यवस्थापन समितिका अध्यक्ष केशव कार्कीले जानकारी दिए । ‘‘संरचना बनेपछि पञ्चकोटमा आउने पर्यटकलाई संसारकोटमा ल्याउने योजनामा छौं’’ कार्कीले भने ।
मुर्ति तिरुपती बालाजीधाम मुक्तिनारायण मन्दिर तथा शालग्राम संङ्ग्राहलय कुँडुले फेदीमा पुजाअर्चना गरी संसारकोटमा प्रतिस्थापन गरिएको हो । मन्दिरले पञ्चकोट क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने शालग्राम सङ्ग्रहालय कुँडुले फेदीका संरक्षक स्वामी ऋषि प्रपन्न्नाचार्य बताउँछन् ।
‘‘कालीगण्डकीको सभ्यता, शालग्रामको संरक्षण गर्दै यहाँका धार्मिक धरोहरको संरक्षण र विकाश गर्नु सबैको साझा दायित्व हो’’ प्रपन्नाचार्यले भने । बागलुङ नगरका उप–प्रमुख राजु खड्काले धार्मिक गन्तव्यको विकास, प्रवद्र्धन र प्रचार प्रसारका लागि तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याए ।
पञ्चकोटमा विश्वकै अग्लो कलश निर्माणको चरणमा छ । ‘‘१ सय ८ फिट अग्लो कलस बनाएर पाँचवटै कोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ । कलस बनेपछि नेपाल र भारतका लाखौं पर्यटकलाई पञ्चकोटमा आर्कषित गर्न सकिन्छ’’ स्वामी कमलनयनाचार्यले भने ।





