सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी संसदमा इनिशालाई न्याय माग

गण्डकी संसदमा इनिशालाई न्याय माग


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा/गण्डकी प्रदेशसभा आइतबारदेखि सुरु भएको छ । जेनजी आन्दोलनमा आगजनीले ध्वस्त बनेको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलको सट्टा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तालिम हल मालेपाटनमा प्रदेशसभा बैठक बसेको हो ।

आइतबारको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया बालिकाको न्यायको लागि आवाज उठाएका हुन ।

सांसद दमयन्ती रुचालले निर्मला पन्तले न्याय नपाउँदै इनिशा विक जस्ता अबोध बालिकाहरूले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

‘निर्मला पन्तदेखि इनिशा विकसम्मको घटनाक्रम हेर्दा यो बीचमा थुप्रै अबोध छोरीहरूको बलात्कारपछि हत्याजस्तो जघन्य र बर्बर घटना निरन्तर भइरहेको छ । यी घटनाक्रमले हाम्रो देशमा छोरीहरू सुरक्षित छैनन् भन्ने प्रस्ट पार्छ । घटना घट्छ, बिस्तारै सेलाउँछ, राज्य जवाफविहीन र मौन देखिन्छ,’ उनले भनिन ।

उनले इनिशा विकको घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कडा कानुनी सजाय दिन जोडदार माग गरिन् ।

दिलमाया पौबीले फागुन २३ गते भएको घटनाको अहिलेसम्म छानबिन र दोषी पक्राउ नपर्नुमा राज्यको कमजोरी रहेको ठहर गरिन ।

‘किन अपराधीलाई कानुनको डर छैन ? यो परिवारको पीडा मात्रै होइन, सिङ्गो समाजको असफलता हो । जबसम्म अपराधीले कडा सजाय पाउँदैन, न्याय छिटो र निष्पक्ष हुँदैन, तबसम्म यस्ता घटनाहरू दोहोरिइरहन्छन् । अपराधीको मानसिकता बदल्न अपराध गर्नुभन्दा पहिला दशपटक सोच्ने खालको कडा कानुन बन्न जरुरी छ,’ उनको भनाइ थियो ।

अर्की प्रदेशसभा सदस्य नन्दकला नेपाली दमाईले अन्तर्राष्ट्रिय महिला दिवसकै अभियानको समयमा जघन्य अपराध हुँदा दिवसका कार्यक्रमहरूले पनि हिंसा नघटेको बताइन् ।

‘अन्तर्राष्ट्रिय महिला दिवसको अभियान चलिरहेकै बेलामा यस्तो जघन्य अपराध भएको छ । यसले छोरीहरूको जीवन कति सुरक्षित छ भन्ने कुराको चुनौती खडा गरेको छ,’ उनले भनिन्, ‘यस्तै घटनाहरू घटिरहे भने समाजलाई कतातिर डो¥याउँछ ? कुनै कसर बाँकी नराखी हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याइयोस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->