सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘शासक बन्दाको परिणाम दलले भोग्नुपरेको छ’

‘शासक बन्दाको परिणाम दलले भोग्नुपरेको छ’


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा/दुइतिहाई बढीको शक्तिशाली बहुमतसहित गण्डकीको सरकार चलाइरहेको कांग्रेस एमाले सरकार भदौ २२ अगाडि जस्तो थियो, परिस्थिती अहिले उल्टो छ । प्रदेशसभामा निकै रक्षात्मक विपक्षी दलका अगाडि संसदका यी दुई ठूला दलको प्रभाव बढी देखिन्थ्यो । त्यतिबेलाको प्रदेशसभा भवन रहेको नदीपुरस्थित नगर विकास केन्द्रको प्रशिक्षण हलमा प्रतिपक्षी दल नेकपाका सांसदहरु एक कुनामा मात्र सीमित देखिन्थे ।

चैत ८ गते आइतबार प्रदेशसभा बैठक बस्दा भने के सत्तापक्ष, के प्रतिपक्ष दुवैको स्वर उस्तै र एकै थियो ।

उनीहरुले भनेको एउटा समान शब्द थियो, ‘सच्चिनुपर्ने ।’

दलहरुको यो आवाज भने त्यो प्रशिक्षण केन्द्रको सभाहलबाट आएको होइन । किनकी भदौ २४ गते त्यो ऐतिहासिक भवन खरानी र खण्डहर बन्न पुगेको छ । त्यसपछिको कामचलाउ प्रदेशसभा सभा भवन मालेपाटनस्थित भूमि व्यवस्था तथा कृषि मन्त्रालयको सभाहललाई बनाइएको छ ।

साँघुरो भवनमा खासै दूरीमा कुर्सीहरु नराखिएतापनि संसदीय प्रक्रिया पु¥याउन सत्तापक्ष र विपक्षीलाई दायाँ र बायाँ राखिएको छ ।

तर, झट्ट हेर्दा त्यो कुनै तालिम हल र तालिम चलिरहेको जस्तो नै देखिन्छ । त्यसलाई फरकचाहिँ अगाडि राखिएको प्रदेशसभा ब्यानरले प्रदेशसभा बैठक रहेछ भन्ने छनक दिन्छ ।

आइतबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा यही हलबाट सत्तासीन कांग्रेस र एमाले तथा प्रतिपक्षी नेकपाका नेताहरुले समानखालको धारणा राखे ।

आइतबारको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गरेनन । उनको दलको तर्फबाट महेन्द्रध्वज जिसीले सम्बोधन गरे । जिसी कुनै बेला यही हलमा मन्त्रीको हैसियतमा मन्त्रालयका कर्मचारीसँग तालिममा हुन्थे ।

आइतबार उनले बैठकमा बोल्दै गर्दा पुरानो कुरा स्मरण गरे ।

बैठकमा बोल्दै उनले चुनावी परिणामले दलहरुलाई रियलाईजेसन गर्ने स्थितिमा पु¥याएको बताए । पछिल्लो ८ वर्षको अवधीमा सरकार सञ्चालनमा रहेका दल र तीनका नेताहरुको कमीकमजोरीका कारण सिर्जित समस्यारहेको बताए ।

‘यो जनमतपछि देशले अप्रत्यासित रुपमा कोल्टे फेरेको छ तर दलहरु अझै सुधारको बाटोमा छैनन्,’ उनले भने ।

घटनापछि त्यसले पारेको क्षतिको अवलोकन र अवस्था बुझ्न अहिलेसम्म पनि गण्डकी सरकार कान्छो जिल्ला नवलपुर नपुगेको गुनासो गर्दै उनले भने, ‘यो देख्दा पार्टी र नेतृत्व अहिले पनि करेक्सनको बाटोमा छैन कि जस्तो लाग्छ । घर जलाउँदा सहानुभूति दिन पनि सरकार उपस्थिति भएन ।’

नेकपा एमाले संसदीय दलका तथा पूर्वमुख्यमन्त्री नेता खगराज अधिकारीले विगतमा सरकार सञ्चालन गर्दा शाषक नभई सेवक हुन नसक्दाको परिणाम दलहरुले भोगिरहेको टिप्पणी गरे । त्यो कमजोरीको पार्टीले गम्भीरतापूर्वक समीक्षा गर्ने उनको भनाई छ । ‘हामी शासक होइन, सेवक हुन सकिएको रहेनछ’, उनले भने, ‘त्यसको सजाय जनताले मतबाट दिएका छन् । जनताले गरेको आलोचना, समीक्षाप्रति हामी नतमस्तकहुँदै सम्मान गर्न चाहन्छौं ।’

विगतमा मूलभुत रुपमा सहि भए पनि जनताको चाहना अनुसार सम्बोधन गर्न नसकेको उनले स्वीकारे । निर्वाचन परिणामले नै जनताको माग सम्बोधन गर्न नसकेको देखाएको उनले बताए ।

‘विगतप्रति पश्चाताप त होईन, तर गल्ती सच्याउने कुरामा प्रण गर्न चाहन्छौं,’ यो कुरा पहिल्यै थाहा पाउन नसक्दा अहिले पुराना दलहरु फसादमा परेको उनको टिप्पणी छ ।

नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका सरकारले गरेका कामको जवाफ जनताले चुनावमा अस्वीकार गरेर दिएको बताए । राज्य पुर्नसंरचना नहुँदा सेवा प्रवाह चुस्त नहुनु, अदालती प्रक्रिया झञ्झटिलो, महङ्गो र पीडादायी हुनु, कर्मचारी तन्त्र नफेरिनुलगायतका कारण दलहरुप्रति जनतामा आक्रोष बढ्दा अहिलेको अवस्था आएको उनको भनाई छ ।

‘जनताको चुलिएको अपेक्षा पूरा गर्न सकेनौँ,’ उनले भने, ‘भ्रष्टाचार बढेको कुरा छ्याङ्गै छ, यो लुकाएर लुक्दैन, यसलाई हामीले स्वीकार गर्नैपर्छ ।’

विगतका सरकारले लोकतन्त्रको सहि अभ्यास गर्न नसक्दा लोकप्रियतावाद जन्मिएको टिप्पणी गर्दैै उनले गरे । ‘लोकप्रियतावाद लोकतन्त्रकै बाई प्रोडक्ट हो भन्ने मैले सुनेको थिएँ । त्यो लोकप्रियतावादलाई जन्मन बाध्य पार्ने कस्तो लोकतन्त्रको अभ्यास गर्यौं हामीले ? त्यही लोकप्रियतावादले आज लोकतन्त्रलाई कमजोर बनायो,’ उनले भने ।

विगतका कमजोरी स्वीकारे पनि उनीहरुले जेनजी आन्दोलन र चुनावी परिणामप्रति भने संशय व्यक्त गरेका छन् । ‘विगतमा कमजोरी भयो, अब करेक्सन गरेर जाऔँ,’ जिसीले भने ।

उनले जेनजी आन्दोलन र चुनाव ट्रेलर मात्रै भएको बताए । भदौ २४ को घटनालाई अराजनीतिक घटना भन्दै उनले त्यो सत्ता हेरफेर गर्नका लागि भएको बताए । ‘नेपालीबाट मात्रै त्यो घटना भएको थिएन । भदौ २४ को आगजनी र तोडफोड तथा भोटिङको प्याट्रन हेर्दा । २४ गतेको घटना पहिलो ट्रेलर मात्रै थियो । फागुन २१ को दोस्रो ट्रेलर थियो । तेस्रो एपिसोड आउनै बाँकी छ । त्यसले मात्र पूर्ण फिल्ममा को हिरो, को खलनायक हो ? र यसको परिणामले मुलुकलाई कहाँ लैजानको लागि हो भन्ने कुरो खोल्छ,’ उनले भने, ‘तर तेस्रो एपिसोड कहिले र कस्तो रुपमा आउँछ भनेर अहिल्यै भन्न नसकिने उनले बताए । ‘यो पर्ख र हेरबाहेक त हामीसँग अर्को विकल्प छैन ।’

एमालेका अधिकारीले जनताले बुझ्नेगरी सुध्रिएर कमजोरी सच्याउने प्रतिबद्धता जनाए ।‘सेवामा कमीकमजोरी छ भने सुधारेर सहि ढंगले सेवा अगाडि बढाउँछौं,’ उनले भने ।

चुनावी परिणामबाट आफूहरु न निरुत्साहित नत उत्साहित रहेको बताए । ‘अकल्पनीय परिणामको भोगाईमा हामी छौँ, हाम्रो सांगठनिक संरचना अरु दलको तुलनामा राम्रो छ भनेर साथीहरुले भनिरहनु भएको छ । तर, सांगठनिक संरचनाले, विचार र विकासले मात्रै पनि नहुँदो रहेछ,’ अधिकारीले भने ।

आन्दोलन र चुनावमा अन्र्तराष्ट्रिय भुराजनीतिक चलखेल भएको उनले बताए । सरकारमा आएको दलबाट प्रदेशका अधिकारमाथि हस्तक्षेप हुनेतर्फ उनले संसय व्यक्त गरे ।

नेपाली कम्युनिष्ट पार्टीका चुमानले जनताको निकै पेचिलो र चोटिलो प्रहार चुनावमा भोगेकाले अब दलहरु आत्म आलोचनातर्फ जानुपर्ने बताए । उनले राज्यलाई पनि बलियो बनाउनु बताए । ‘जनयुद्ध लड्ने बेलामा राज्य निकै बलियो छ भन्ने लाग्थ्यो, तर भदौ २३ र २४ गतेको घटनापछि राज्य कमजोर र निरीह रहेछ भन्ने महशुस भयो । यति निरीह र कमजोर बनाउन र बन्नमा हाम्रो कमजोरीले पनि त काम ग¥यो होला,’ चुमानले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->