शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘काममा फर्कन पाइएन भने ऋण कसरी तिर्ने ?’

‘काममा फर्कन पाइएन भने ऋण कसरी तिर्ने ?’

वैदेशिक यात्रामा जाने तयारी भैरहेको बेला इजरायल र इरानबीचको द्वन्द्वले धेरैको यात्रा रोकिएको छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८२, मंगलबार

बागलुङ/बडिगाड गाउँपालिका–७ का झकेन्द्र घर्ती दुई वर्षदेखि साउदी अबरमा काम गर्थे । २ महिना बिदामा उनी गत पुस अन्तिम साता घर आउँदासम्म ठीकठाक थियो ।

इजरायल र इरानबीचको द्वन्द्वले उनको जागिरमा असर परेको छ । फागुन २९ गते साउदी फर्कने उनको टिकट थियो तर जहाज उडेन । बडिगाड गाउँपालिकादेखि काठमाडौं पुगेर काम नबनेपछि निराश भएर उनी फर्के । अहिले उनको परिवारमा ऋण तिर्न बाँकी छ । कमाइ गरेर तिरौंला भन्ने चाहना पूरा नभएको उनले बताए ।

उनकै छिमेकी ओमबहादुर घर्तीको त झनै समस्या छ । साउदी अरबमा लेबर भिसामा गएका घर्ती अहिले बेरोजगार बनेका छन् । उनको पनि फागुन अन्तिम साता फर्कने योजना थियो । ‘पढेको छैन, साउदीमा त लेबर काम गर्थे र कमाइ थियो,’ उनले भने, ‘यता केही छैन, काम पाइँदैन ।’ उनले कमाइ अभावमा घरको ऋण तिर्ने र परिवार पाल्न समस्या परेको बताए । कृषि पेशाबाट घर खर्च नचलेकोले उनी दुई वर्ष अघि साउदी गएका थिए । साउदी जाँदा लागेको ऋण र घर खर्चका लागि अझै काम गर्नुपर्ने बाध्यता उनले सुनाए ।

यी दुईभाइ त प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारीमा यहाँका धेरै युवा खाडी मुलुकमा छन् । उनीहरुले कमाइ गरेर पठाएको पैसाले नेपालीको घर खर्च चलेको छ । काममा जान नपाए उनीहरुको घरखर्चमा समस्या आउने अवस्था छ । ‘नेपालमा रोजगारी छैन, विदेशमा जान सकिएन भने घरको ऋण कसरी तिर्ने ?,’ बागलुङ नगरपालिका–७ का विनोद किसानले भने, ‘वैदेशिक यात्रामा जाने तयारी भैरहेको बेला इजरायल र इरानबीचको द्वन्द्वले यात्रा रोकियो ।’ नेपालमा काम गरेर पनि कमाइ गर्न नसकेकोले खाडी देशमा जाने लक्ष्य बनाएकोमा यात्रा अचानक रोकिएको उनले बताए ।

इजरायल र इरानबीचको द्वन्द्व चलिरहेकै बेलामा पनि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको लर्को भने छुटेको छैन । तर अधिकांश युवाले अब के हुने हो भन्ने चिन्ता व्यक्त गरेको प्रशासन कार्यालयकै आप्रवासी श्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता जनक गैरेले बताए । ‘धेरैजसो युवाहरुले राहदानी बनाउन आउँदा खाडी देशमा जान पाइन्छ की पाईदैन भनेर सोध्छन्,’ गैरेले भने, ‘त्यो कुरा हामीलाई पनि थाहा हुँदैन, बरु केही पर्खेर सहज अवस्था भएपछि मात्र जानुहोला भनिदिने गरेका छौं ।’ उनले सुरक्षित आप्रवासनका लागि घर परिवारमा जानकारी गराउने, विदेशमा जानेहरुले घर परिवारमा सबै कागजातको नक्कलप्रति राखेर मात्र जान सुझाएको बताए ।

त्यसो त सुरक्षित भनिएका देशमा गएका युवा पनि पटक पटक अप्ठ्यारोमा पर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा पनि चालु वर्ष ८० भन्दा बढी उजुरी र निवेदन आएको तथ्यांक छ । तीमध्ये धेरैजसोले खाडी मुलुकको कानून अनुसार काम नगरेको, एउटा काम भनेर अर्को लगाएको जस्ता घटना पनि छन् । कतिपयहरु अमेरिका र युरोपका देश जाने भनेर ठगिएकाहरु पनि छन् ।

खाडी मुलुक गएकाहरु पनि वर्षौ सम्पर्कविहिन भएपछि राजदुताबासमार्फत खोजी गरिएकहरु समेत रहेको सहायक प्रजिअ नवराज बरालले बताए । ‘कतिपयलाई दुताबासमार्फत खोजी गरेर ल्याएका छौँ,’ बरालले भने, ‘सहज अवस्थामा गएकाले समेत दुःख पाएका छन्, यो अवस्थामा त जाने अनुमति र सुझाव दिन सकिंदैन ।’ राहदानी बनाउन आउनेलाई समेत वैदेशिक यात्राको समस्या र असुरक्षाबारे जानकारी दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->