स्याङ्जा/स्याङ्जामा चालु आर्थिक वर्षको अहिले सम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक–एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण दिवस जानकारी दिइएको हो ।
यहाँ अहिले १६० जना क्षयरोगका बिरामीले औषधी सेवन गरेको कार्यालय प्रमुख राम बहादुर नेपालीले जानकारी दिए । यहाँ सबैभन्दा धरै वालिङ नगरपालिकामा ५० जना र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा दुई जना क्षयरोगका बिरामी रहेका छन् ।
यस्तै गल्याङ नगरपालिकामा २९, कालीगण्डकी गाउँपालिकामा र चापाकोट नगरपालिकामा १४÷१४ जना, भीरकोट नगरपालिकामा १३ जना, पुतलीबजार नगरपालिकामा ११ जना, बिरुवा गाउँपालिकामा १० जना, हरिनास आठ जना, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना, आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगको बरामी रहेका छन् ।
दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने उदेश्यका साथ हरेक पालिकामा स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रमार्फत क्षयरोगको निशुल्क औषधी वितरण, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार सहितका कार्यक्रम सञ्चालन भइरहेको नेपालीले बताए ।
अहिले ४० प्रतिसत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताउँदै उनले सबैको सहयोगले मात्र सरकारको क्षयरोग मुक्त देश बनाउने लक्ष्यले सार्थकता पाउने बताए ।





