पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत पुरस्कृत हुने भएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेततृत्वको आयोगले जेनजी प्रदर्शनका क्रममा प्रहरीका कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूुमिका खेलेको भन्दै उनलाई पुरस्कृत गर्नका लागि सिफारिस गरेको हो ।
भदौ २४ गते भएको हिंसात्मक घटनाको क्रममा एउटा समूह डोजरसहित जिल्ला प्रहरी कार्यालय कास्की आक्रमणमा पुगेको थियो । डोजरसहित त्यहाँ पुगेको टोलीमाथि प्रहरीका एक जवानले गोली प्रहार गर्दा डोजर चलाउने व्यक्ति घाइते भएका थिए । स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रहरी कार्यालयमा रहेका हतियार जोगाउने चुनौती थियो । डीएसपी बस्नेतले त्यो बेला हतियारमात्र जोगाएनन्, मातहतमा प्रहरीहरुलाई सुरक्षित राख्न सबै उपायहरु अपनाएका थिए । हतियार सुरक्षित भएसँगै उनी बैदाममा रहेको प्रहरी गण पुगेका थिए । आक्रमणमा उत्रेको आपराधिक समूहले जिल्ला प्रहरी कार्यालयमा आगोसमेत लगाएको थियो । उनलाई पुरस्कार सिफारिस भएको छ ।
कार्की आयोगले कास्कीका डीएसपी बस्नेतसहित कालिमाटी प्रहरी वृत्तका डीएसपी मधु थापा, मालिगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगन्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानालाई पुरस्कारका लागि सिफारिस गरेको हो ।





