बागलुङ/चैत्राष्टमी मेला आँफैमा मौलीक हो । त्यसैले यो मेला वर्षौदेखि नियमित रुपमा चल्दै आएको छ । मेला परम्परागत कला र संस्कृति, स्थानीय उत्पादनको बजारीकरण र धार्मिक रुपमा पूजा गर्ने गरी लाग्ने गरेको हो ।
पछिल्ला वर्ष बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले मेलालाई विशेष व्यवस्थापन गर्दै आएको छ । तसर्थ मेलामा आएमा भक्तजनले सहजै पूजा गर्ने अवसर पाएका छन् भने चैत्राष्टमी भक्तजनका लागि मात्र नभइ व्वयसाय गर्ने, खेलाडी, कलाकार र आम पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै गएको छ ।
यो वर्षको चैत्राष्टमी मेलामा पनि बागलुङ कालीका मन्दिरमा हजारौं भक्तजन भेला भएका छन् । केही दिनदेखि नै दैनिक भीड लागेकोमा बिहिवार विशेष भीड लागेको हो । बाङगेचउरदेखि कालीका उद्यान र मन्दिरमा दिनभर हजारौंको भीड लागेको हो ।
चैत्राष्टमीभर झण्डै ५ लाख भक्तजन आउने अनुमान गरेको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताए । बिहिबार दिउँसोसम्म पनि कालीका मन्दिरमा ४ वटा लाइन बसेर सयौंले एकैैपटक पूजा गरेका छन् भने खेल, रमाइलो मेला, मौलीक व्यवसाय लगायतमा पनि सयौंको भीड थियो । गुठीले एकैपटकमा धेरैलाई पूजा गर्न सक्ने गरी मन्दिरका ३ वटा ढोका खुला गरिदिएको थियो ।
मेलामा विभिन्न खेल प्रतियोगिता, दैनिक जीवनमा आवस्यक पर्ने ठेकी, डाला, नाङला, कुटो कोदालो, खुकुरी, खुँडा जस्ता सामाग्री समेत बिक्रीका लागि राखिएको छ । वर्षभरी निर्माण गरिएका सामाग्रीहरु ग्रामीण किसानले बेच्ने गर्छन् भने चैत्राष्टमीमा आउनेले ती सामान खरिद गरेर लैजाने चलन छ ।
झण्डै पाँच सय वर्षअघि स्थापना भएको बागलुङ कालीका मन्दिर (माइ थान) मा लाग्दै आएको मौलीक मेलालाई गुठीले व्यवस्थापनको काम गरेको हो ।
सयौं सवारी साधनका कारण ट्राफिक जाम भएकोले जिल्लाको सुरक्षा निकायले सवारी व्यवस्थापनमा साथ दिएको छ भने सशष्त्र प्रहरी बलले यहाँ खानेपानीको व्यवस्थापन, नेपाल रेडक्रस सोसाइटी र सेनाको टोलीले प्राथमिक उपचार सेवा संचालन गरिरहेका छन् । शनिबारसम्म यो मेला लाग्नेछ ।
मेलाकै अवसरमा मौलीक दोहोरी, झाम्रे, सोरठी लगायतका गीत गाउने चलन छ । ठाउँठाउँमा मादल, खैजेरी बजाएर नाच्नेको पनि समूहहरु देखिएका छन् भने कालीका मन्दिर र आसपासमा भजनेहरु नाँचेको देखिन्छ । सयौं पञ्चबली समेत यहाँ चढाउने गरिएकोले बली व्यवस्थापन पनि गरिएको हो ।
चैत्राष्टमी मेलालाई बजार झर्ने मौकाको रुपमा समेत ग्रामीण क्षेत्रका बासिन्दाले लिने गरेका छन् । कामले फुर्सद नपाएका गृहिणीहरुले पनि नाङलो, डाली र अन्य सामाग्री किन्नका लागि समेत मेलामा आउने गरेको ग्रामीण बासिन्दाले बताए ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ साथैमा ल्याएर यहाँ विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि कालीका मन्दिर स्थापना गरेर नियमित मेला र पूजा शुरु भएको पाइन्छ । सोही कारण अहिले समम पन िबागलुङ कालीकामा मौलीक मेला लाग्ने गरेको हो । कालीका मन्दिरमा पुजा गर्दा आँटे ताकेको पुग्ने जनविश्वास समेत छ ।





