शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तित्याङको डोयमा पर्यटकीय स्थल बनाउने तयारी

तित्याङको डोयमा पर्यटकीय स्थल बनाउने तयारी

डोयमा पर्यटनका कार्यक्रम आउने भएपछि स्थानीयले पनि कृषि, पशुपालनको काम थालेका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

बागलुङ/जानका लागि सडक त अप्ठ्यारो छ, तर पुगेपछि सदरमुकाम नजिकै देखिन्छ । उत्तरमा हिमालका श्रृंखला पनि देखिन्छन् । नजिकै किसानले लगाएको ओखरको बगैंचा छ ।

बसाइ सराइले सुनसान बन्न थालेको बागलुङ नगरपालिका वडा नं. ९ को डोयलाई पर्यटकीय स्थल बनाउने तयारी छ । यहाँको एक सयबढी रोपनी जमिन लिएर नगरपालिकाले पर्यटनको केन्द्र बनाउन लागेको हो । पोखराको जस्तै अग्लो शिवमुर्ती बनाउने, वनभोज स्थल निर्माण गर्ने र स्थानीय कला, संस्कृति, उत्पादन समेतको प्रचार र बजारीकरण गर्ने लक्ष्य राखिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

समुन्द्री सतहदेखि २ हजार मीटर उचाइमा रहेको यो बस्तीमा पर्यटकीय केन्द्र बनाउँदा सदरमुकाममा आउने पाहुना पु¥याउन सकिने श्रेष्ठले विश्वास गरे । ‘पर्यटकका लागि सहज यातायात र सदरमुकामबाट नजिकै आर्कषण स्थलमा पुग्ने ठाउँ उपयोगी हुन्छ,’ उनले भने, ‘नगरपालिकाले यो क्षेत्रलाई गौरवको आयोजनामा समावेश गरिसकेको छ ।’ गत वर्ष ८० लाख लगानी गरेर यहाँको जमिन सम्याउने, संरक्षणका लागि पर्खाल निर्माण, पर्यटकीय क्षेत्र र अग्लो मुर्ती बनाउने नजिकै सुरक्षाकर्मी बस्ने घर समेत बनाइएको छ । शौचालय बनाइएको छ । साथै, मुर्तीका लागि जग बसाल्ने काम भैसकेको छ ।

खानेपानीको ट्यांकी निर्माण भैसकेको छ । नजिकैको मुलबाट पानी जोडिएको छ । वडा अध्यक्ष राजु थापाले गुरुयोजना अनुसारका काम पुरा गरिसक्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने बताए । त्यसका लागि चालु वर्षदेखिनै खर्चने गरी नगरपालिकाले गौरवको आयोजना भन्दै २ करोड ५० लाख विनियोजन गरेको छ । नगर स्तरीय योजना वडा तहमा संचालन भएको यो नै सबैभन्दा ठूलो हो । यहाँ पुग्ने सडक स्तरीय बनाउने काम पनि भैरहेको छ । यो सडक बनिसक्दा बागलुङकै विकट मानिने रायडाँडा पुग्न पनि त्यहाँबाटै सहज हुनेछ । त्यहाँ रहेको शान्ति गुम्बाको प्रचार र पर्यटन प्रवद्र्धनमा पनि सहज हुनेछ ।

डोयमा पर्यटनका कार्यक्रम आउने भएपछि स्थानीयले पनि कृषि, पशुपालनको काम थालेका छन् । स्थानीय मिना जिसीले ५० बाख्रा पालन गरेकी छिन् । आवस्यकता अनुसार बढाउने भन्दै आधुनिक खोर समेत बनाएको बताइन् । भेटेनरी तथा पशु विज्ञ केन्द्रले उनको आधुनिक खोर र घाँस भण्डारनका लागि १ लाख २५ हजार अनुदान दिएको छ । जिसीले २ लाख ५० हजारमा भण्डारन गोठ बनाएको बताइन् ।
बजार झरेर बसेका कृष्णबहादुर खड्का र देवबहादुर खड्का लगायतका युवा मिलेर ओखर खेती पनि थालेका छन् । ताजा तरकारी खेतीका लागि पनि युवाहरु सक्रिय छन् । स्थानीय कृष्ण खत्रीले तरकारी फलाएर बजार पठाउने गरेका छन् । पर्यटकीय स्थल बनेमा उत्पादन गाउँमै बिक्री गर्न सकिने उनीहरुको आस छ । नगरपालिकाले पनि उत्पादनमा आधारित अनुदान दिने र स्थानीय उत्पादनले पुगेसम्म आयात नगर्ने नीति लिएको छ ।

पर्यटन प्रवद्र्धनकै लागि बागलुङ बजार नजिकैको अग्लो पुलदेखि दुर्लेनी र डोयसम्म झण्डै ४ किमी लामो पदमार्ग पनि बनाउन लागेको छ । ‘गाडी चढेर आउनेलाई स्तरीय सडक बन्नेछ भने पैदल यात्रा गर्न चाहनेले पनि पदमार्गमा हिंड्न पाउनेछन्,’ थापाले भने, ‘आर्कषक गन्तव्य बन्यो भने धेरै ठाउँमा लगानी गर्नै पर्दैन ।’

उत्तर तर्फको डाँडामा पञ्चकोट, पूर्वतर्फ भकुण्डे र दक्षिणतर्फ दुर्लेनी पर्यटकीय स्थल बन्न लागेको हो । ती सबै स्थानमा होमस्टेलाई प्राथमिकता दिएर स्थानीय उत्पादन, कला र संस्कृतिमार्फत पर्यटक आर्कषण गर्न सक्ने बनाउने लक्ष्यले काम भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->