पोखरा/शुक्रबार विस्तारित गृहमन्त्रीमा गोरखा १ बाट निर्वाचित सुदन गुरुङ नियुक्त भएका छन । गोरखाको उत्तरी पालिका चुमनुम्ब्री गाउँपालिका–३ सिर्दिवासका गुरुङ जेनजी आन्दोलनका अगुवासमेत हुन । गोरखाको यो क्षेत्रको उत्तरी सीमाना सिधै चीनसँग जोडिन्छ ।
निर्वाचनको सम्मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर निर्वाचित गुरुङ बालेन साह नेतृत्वको सरकारमा गृहमन्त्रीको सपथ लिएका हुन ।
३८ वर्षीय उनी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँका हुन् । उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो ।
उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए ।
यसअघि ‘हामी नेपाल’ संस्थामा सक्रिय रहेका गुरुङ सामाजिक क्षेत्रमा सक्रिय थिए । २०७२ सालको भुइँचालो बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए ।
भदौ २३ को जेनजी आन्दोलन क्रममा पनि सुदन सहभागी थिए । त्यसपछि उनको नाम चर्चामा आएको थियो ।
उनले त्यस बेला आफूले ’पानी बाँड्ने, ब्यानरहरू बनाउने र एम्बुलेन्स व्यवस्थापन’ को काम गरेको बताएका थिए ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार नबनुन्जेलसम्म गुरुङ समन्वयकारी भूमिकामा थिए ।
उनले पटक पटक राष्ट्रपति कार्यालय पुगेर छिटो प्रधानमन्त्री नियुक्त गर्न भनेका थिए । प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले सुदनलाई ‘जेठो छोरा’ समेत भनेकी थिइन् ।
सुदन २०४४ साल असार २५ गते जन्मिएका हुन् ।
त्यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच संवाद गराउने भूमिकामा उनी पनि सक्रिय थिए ।
ललितपुरस्थित कुमार बेनको घरमा रवि र बालेनलाई छलफलमा राखेर गुरूङले ‘कुरा नमिल्दासम्म बाहिर निस्कन नदिन आफू सेन्ट्री’ बसेको अभिव्यक्ति दिएका थिए ।
पछि तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङ र उनीनिकट दल उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने भूमिकामा पनि सुधनको सक्रिय भूमिका थियो । यद्यपि कुलमान रास्वपामा बसेनन्, उज्यालो नेपाल पार्टी अध्यक्ष बने र चुनाव लडे ।
सुदनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि सेवा सुविधा नलिने बताएका थिए ।
रास्वपाले राखेको अभिमुखीकरणमा सहभागी भएका बेला उनले सेवा सुविधा नलिने बताएका हुन् ।
‘म त (तलब) खान्नँ नि ! किन तलब खानु र ‘नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौं,’ उनले भनेका थिए ।
चुनावी प्रचार गर्दा सुधनले गोरखाका कतिपय ठाउँहरूमा बोल्ने क्रममा आफू गृहमन्त्री बन्नेसमेत बताएका थिए । गृहमन्त्री हुने सर्तमा आफू रास्वपाको घन्टी चिह्नमा चुनाव लडेको उनको जिकिर थियो ।





