बागलुङ/सरकारले प्रतिशोध पुर्ण रुपमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
एमाले बागलुङले आइतवार प्रजिअ कृष्णप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारले पहिलो निर्णयकै रुपमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओली सहित पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । आइतवार दुवै जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अदालतले आदेश दिएको छ ।
शनिवार बिहान पक्राउ परेका ओली र लेखकलाई प्रकृया पनि नपु¥याइएको समेत आरोप लागेको थियो । गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको उच्चस्तरीय छानविन आयोगले भदौ २३ को मात्र एकतर्फी अनुसन्धान गरेको एमालेको आरोप छ । उक्त समय २४ गतेको घटनाको पनि छानविन गर्नुपर्ने, राजनीतिक प्रतिशोधको रुपमा नभइ दोषको आधारमा कारवाही गर्नुपर्ने जस्ता बिषय एमालेले उठाएको छ ।
राजधानी सहितका अन्य जिल्लामा बिरोध स्वरुप आन्दोलनका कार्यक्रम घोषणा भएका छन् भने बागलुङमा एमालेले शान्तिपुर्ण रुपमा दवाव सिर्जना गरिरहेको छ । ज्ञापनमा दुवै जनालाई अबिलम्ब रिहाइ गर्नुपर्ने, घटनाको निश्पक्ष र पारदर्शी छानविन गर्नुपर्ने उल्लेख छ । एमाले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मनकुमारी केसी, जिल्ला सचिव गणेश थापा लगायत प्रशासनमा पुगेर ज्ञापन पठाएका हुन् ।





