कसैको आदेशलाई कानुन मान्न सकिदैन
बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता वास्तविक प्रतिपक्ष बन्नुपर्ने बताएका छन् । बलियो सत्तापक्ष संसदमा रहेको बेला प्रतिपक्ष कमजोर रहेको भन्दै पाण्डेले सधैंझैं पत्रकारिता बलियो प्रतिपक्ष बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा शुक्रबारदेखि शुरु भएको बागलुङ मिडिया मेलाको उद्घाटन गर्दै पाण्डेले स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए । उनले कसैको आदेशलाई कानुन मान्न नसकिने समेत बताएका छन् । उनले संविधान र कानुन माथी कोही नरहेको पनि टिप्पणी गरे ।
संचार मन्त्रालयले गरेको हालैको परिपत्र लक्षित गर्दै पाण्डेले एक महिना पनि नटिक्ने आदेशको संज्ञा दिए । संचार मन्त्रालयले परिपत्र गरेर सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै छाप्ने भन्ने अव्यवहारिक परिपत्र प्रदेशमा पनि आएको बताए । ‘लोकतन्त्रमा सामुदायिक र निजी क्षेत्रका संचारमाध्यमलाई अंकुश लगाउन मिल्दैन’ उनले भने, ‘संघियताको मर्म विपरितका काम गर्दा संघियता कमजोर बन्छ ।’ उनले एउटै व्यक्ति तल्लो तहमा बस्दा संघले असहयोग गरेको भन्ने र संघमा गएपछि स्थानीय र प्रदेशलाई हेप्ने काम राम्रो नभएको बताए ।
वर्तमान प्रधानमन्त्री पनि महानगरपालिकाको प्रमुख भएर प्रधानमन्त्री बनेको कुरा हेक्का राख्नुपर्ने उनले बताए । उनले हिजो संघले सहयोग गरेन भनेको कुरा अहिले के भैरहेको छ ? एक महिना पनि नटिक्ने कुरा गर्न भन्दा आम नागरिकले विश्वास गर्ने कुरा गर्न उनले सुझाव दिए । संचार मान्त्रालयबाट प्रदेश सरकारमा पनि परिपत्र आएको उनले बताए । त्यो परिपत्रले संघियताको अधिकार कुन्ठित भएको समेत दाबी गरे ।
उनले प्रदेश सरकारले संचार क्षेत्रको विकासका लागि बरु थप काम गर्न तयार रहेको बताए । संविधानले संघ, प्रदेश र स्थानीय तहको उत्तिकै महत्वको मानेको भन्दै संविधान संशोधन गरेर अधिकार कटाउन पाइने तर आदेशमा चल्न नहुने बताए । उनले कानून र संविधान माथी नजान संघिय सरकारलाई आग्रह गरे । बरु कानून संशोधन गर्न चुनौती दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पनि सरकारको निर्णय निरंकुशताबादी भएको आरोप लगाए । उनले निजी संचार माध्यम नभइ सामुदायिक संचार माध्यमलाई धरासायी बनाउन खोजिएको पनि टिप्पणी गरे । उनले सरकारले यो निर्णय सच्याउनुपर्ने सुझाव दिए । संघ र प्रदेशको अधिकार खोस्ने काम नहोस भनेर महासंघले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै कार्यान्वयन नभए सडकमा जाने बताए । ‘हामी न्युज रुममा बसेर काम गर्न चाहन्छौं, तर सरकारले सडकमा धकेल्दैछ’ उनले भने, ‘सरकारसंग न्युनतम प्रेस स्वतन्त्रताको विश्वास छ भने यो निर्णय फिर्ता गरोस् ।’ उनले वर्तमान सरकारको संघियता प्रतिको विश्वास जाच्ने बेला आएको पनि बताए ।
मेलामा १० वटा समूहगत छलफल, परम्परागत संचार माध्यमको प्रर्दशनी, भित्तेपत्रिका प्रतियोगिता, फोटो प्रर्दशनी, सास्कृतिक क्रियाकलाप लगायत समावेश गरिएको महासंघका अध्यक्ष राम थापाले बताए । महासंघका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





