पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो ।
बिदाई कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुईवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए । ‘कतिपय विद्यार्थीले नर्सरी देखि नै पढेका थिए । त्यो आधारमा कतिपयले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने, ‘विश्वविद्यालयको ढोका बल्ल खुल्न थालेको हो । विश्वविद्यालयको ढोका खुलेसँगै विद्यार्थीको भविश्यको बाटो पनि तय हुनेछ । विश्वविद्यालयको ढोकासम्म पुग्नका लागि अझै मेहनत बाँकी नै छ ।’
विद्यार्थीको भविश्य उज्जवल बनाउन विद्यालयले कक्षाकोठामा मात्र पठनपाठन सीमित नराखी ज्ञानको दायरा फराकिलो बनाउँदै बाहिरी ज्ञान दिलाएको पनि प्राचार्य बरालले बताए । त्यसका लागि विद्यालयले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएको उनले जानकारी दिए । ‘विद्यालय तहको शिक्षा बल्ल सकिन थालेको छ । देशका लागि असल र अब्बल नागरिक तयार हुनेगरि मेहतन गरेमा सफल भईनेछ,’ बरालले भने, ‘विद्यालयमा किताबी ज्ञान मात्र नभई जीवनोपयोगी सिप पनि सिकेकोले त्यसलाई भरपूर प्रयोग गर्नुपर्छ ।’
विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेलले जो कोहीले पनि संघर्ष गर्न सक्ने हो भने जीवन उज्जवल हुने बताए । ‘एकाध गल्ती र कमजोरी हुँदैमा जीवनसँग हार खानु हुँदैन,’ उनले भने, ‘कमजोरीलाई सुधारेर अघि बढेमा सफलता हात पर्छ ।’
विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले केहीवर्ष अघिसम्म विद्यालयको अध्ययन पुरा भएपछि विद्यार्थी र विद्यालयबीच सम्बन्ध पनि सकिने गरेकोमा अहिले भने सञ्चार सुविधाका कारण सम्बन्ध रहिरहने बताए । १२ कक्षाको परीक्षाको तयारीमा रहेको र अब बिदाई भएपनि विद्यार्थी र विद्यालयको सम्बन्ध कहिल्यै नसकिने उनले बताए ।
‘अबको झन्डै एकमहिना पछि अन्तिम परीक्षा छ । तर, अबको चारमहिनापछि भविश्य कता जाने भन्ने सुनिश्चित हुनेछ । किनकी आसन्न वार्षिक परीक्षापछि मात्र विश्वविद्यालयको ढोका खुल्नेछ,’ शर्माले भने, ‘विश्वविद्यालयले भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नेछ ।’ अबको चारमहिना पर्याप्त मेहनत गर्ने हो भने जीवन राम्रो बन्ने शर्माले बताए । विद्यालयले गरेको बिदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।





