शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काकाकुल अर्नाकोटमा लिफ्टिङ खानेपानी आयोजना बन्दै

काकाकुल अर्नाकोटमा लिफ्टिङ खानेपानी आयोजना बन्दै


  • ढाेरपाटन संवाददाता
  • चैत्र २१ २०८२, शनिबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीका मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाईसराई दर बढ्दो छ ।

प्राथमिक उपचारको लागि बोहरागाउँस्थित स्वास्थ्य चौकीको भर पर्नुपर्ने बाध्यता सामुदायिक स्वास्थ्य इकाईले केही हदसम्म टरेपनि वर्षाैदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएका अर्नाकोटबासीको घरघरमा खानेपानीको पहुँच सुनिश्चित गर्न झण्डै पाँच करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदैछ ।

कर्मा फ्लाइट्स फाउन्डेशनको समन्वयमा निसीखोला गाउँपालिकाको २९ लाख २४ हजार ८ सय २६ रुपियाँ, युनिका फाउण्डेशनको ३ करोड ४७ लाख ८५ हजार १ सय ५९ रुपियाँ, नेपाल रेडक्रस सोसाइटी कास्कीको ६ लाख ३० हजार र १ करोड १४ लाख ९० हजार बराबरको जनश्रमदान गरी कुल ४ करोड ५८ लाख ३० हजार ६ सय पचास रुपियाँको लागतमा अर्नाकोट लिफ्टिङ खानेपानी तथा सरसफाई स्तरोन्नति परियोजनाअन्तर्गत आयोजना बन्न लागेको हो ।

निसीखोला गाउँपालिका वडा नं. २ उपल्लो बेङ्ग्रीस्थित हाडीचार मुहानबाट पानी लिफ्लिङ गरेर झण्डै दुई हजार मिटरको उचाईंमा रहेको धम्पुमा संकलन गरिने छ । ढोरपाटन नगरपालिका र निसीखोलाको सिमानास्थित धम्पुमा संकलन गरिएको पानी अर्नाकोटका दुई सय घरधुरीमा वितरण गरिने आयोजना निर्माण उपभोक्ता समितिका सचिव ओमबहादुर रसाइलीले जानकारी दिए ।

‘‘२०७० मा लिफ्ट प्रविधिबाट पानी ल्याउने प्रयास भएपनि दीर्घकालीन व्यवस्थापन अभाव र संरचना जीर्ण बनेपछि आयोजना प्रभावकारी हुन सकेको थिएन । यसपटक भने दिगोपनालाई ध्यानमा राखेर आयोजना स्तरोन्नतिको काम धमाधम भइरहेको छ’’ रसाइलीले भने, ‘‘लिफ्टिङ आयोजनालाई अर्नाकोटबासीको जीवनशैली परिवर्तन गर्ने अभियानका रूपमा लिएका छौं ।’’

आयोजनाअन्तर्गत ‘एक घर एक धारा’ निर्माण गरिने भने ११ वटा पानी संकलन गर्ने ट्याङ्की बन्ने छन् । पाइपलाइन विस्तरका लागि उपभोक्ताले जनश्रमदान गरिरहेको समितिका सचिव रसाईलीले बताए । समितिले पानी लिफ्टिङका लागि मोटर चलाउन ट्रान्सफर्मर जडानका लागि विद्युतमा निवेदन दिएको छ भने झण्डै ९० लाखको मोटर खरिद प्रक्रिया अघि बढिसकेको जनाएको छ ।

अर्नाकोटमा अधिकांश दलीत र एकादुइ घर बाहुनक्षेत्री र जनजातीको बसोबास छ । खानेपानी आयोजना बन्ने भएपछि ८२ वर्षिय छलविर विकले पर्याप्त पानी खाएर मर्ने धोको पुरा हुने भन्दै खुशी व्यक्त गरिन् । ‘‘बुढेकालमा टाढाबाट पानी खेप्न सकिदैन, कहिलेकाहीं मुखै नधोई खाना खानुपर्ने बाध्यता थियो’’ विकले भनिन्, ‘‘पानी जोहो गर्दाको सकस अब साम्य होला कि ।’’

पानीको जोहो गर्नुपर्ने बाध्यताले धेरै विद्यार्थीको पढाईमा असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए । पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाईदेखि स्वास्थ्यका क्रियाकलाप समेत प्रभावित भएको सिर्पालीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->