पोखरा/१० बुँदे घोषणा पत्र सार्वजानिक गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा बागलुङ मिडिया मेला–२०८२ सम्पन्न भएको छ । बदलिँदो प्रविधि र सामाजिक परिवेशअनुसार पत्रकारितालाई रूपान्तरण गर्दै गुणस्तरीय र विश्वसनीय सामग्री उत्पादनमा जोड दिनुपर्ने निष्कर्षसहित मेला सकिएको हो ।
दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिताको विकासक्रम, डिजिटल प्रविधिको प्रभाव, मिडियाको विश्वसनीयता संकट, सीमान्तकृत समुदायको आवाज, स्थानीय विकासका मुद्दा र सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणलगायत विषयमा १० सत्रमार्फत छलफल भएको थियो ।
मेलाबाट जारी घोषणा–पत्रमा पत्रकारिताको आधार समाचारको सत्यता, मूल्य–मान्यता र नागरिकको विश्वास भएको उल्लेख गर्दै नयाँ प्रविधि र माध्यमलाई आत्मसात गर्दै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनुपर्ने औँल्याइएको छ । ‘विश्वसनीयता कमजोर भए पत्रकारिता नै संकटमा पर्छ,’ घोषणा–पत्रमा भनिएको छ ।
डिजिटल मिडिया र सामाजिक सञ्जालको विस्तारसँगै पत्रकारिता क्षेत्रले नयाँ अवसर र चुनौती दुवै सामना गरिरहेको निष्कर्ष निकाल्दै मेलाले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगमार्फत आयआर्जनका सम्भावना विस्तार गर्न सकिने जनाएको छ । यसका लागि पत्रकार र सञ्चारगृहको क्षमता अभिवृद्धि तथा नीतिगत सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।
सूचना प्रविधिको पहुँच विस्तारसँगै केन्द्र र मोफसलबीचको दूरी घट्दै गएको उल्लेख गर्दै अब समाचारको गुणस्तर नै प्रमुख आधार बन्ने धारणा मेलाले अघि सारेको छ । गाउँ तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भइसकेको सन्दर्भमा पत्रकारितालाई थप जिम्मेवार र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ ।
घोषणा–पत्रमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले बागलुङको विकासका सम्भावना बढाएको उल्लेख गर्दै कृषि, पर्यटन, जलविद्युत र उद्यम क्षेत्रमा लगानी तथा नीतिगत पहल आवश्यक रहेको जनाइएको छ । कोरला नाका नियमित सञ्चालनमार्फत निर्यात वृद्धि र आर्थिक गतिविधि विस्तार गर्न सकिने विषय पनि उठाइएको छ ।
त्यसैगरी, बागलुङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरूको ज्ञान, सीप र अनुभवलाई जिल्लाको विकासमा उपयोग गर्न आह्वान गरिएको छ। यस्ता प्रेरणादायी कथाहरू मिडियामार्फत प्रवद्र्धन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
सरकारी विज्ञापनलाई सरकारी मिडियामा मात्र सीमित गर्ने निर्णयप्रति असहमति जनाउँदै मेलाले यसलाई प्रेस स्वतन्त्रताको भावना विपरीत भएको ठहर गरेको छ । यसले निजी तथा स्वरोजगारमूलक मिडियामा असर पर्ने भन्दै सम्बन्धित निकायलाई निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।
प्रविधिगत परिवर्तनसँगै स्थानीय सञ्चारमाध्यमहरू संकटमा परेको उल्लेख गर्दै तिनको दिगोपनाका लागि समयानुकूल रूपान्तरण र स्थानीय तहबाट स्पष्ट सञ्चार नीति आवश्यक रहेको मेलाले जनाएको छ ।





