म्याग्दी/ जिल्लामा शैक्षिक सत्र २०८३ को लागि आवश्यक पर्ने सबै तहका पाठ्यपुस्तक सदरमुकाम बेनी आइपुगेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अनुसार जिल्लाका लागि आवश्यक बाल शिक्षादेखि कक्षा १० सम्मका पुस्तक आइपुगेको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले उपलब्ध गराएको १० कक्षा सम्म पढ्ने विद्यार्थीको तथ्याङ्क अनुसार पुस्तक आइपुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष नारायण शर्माले बताए । शर्माका अनुसार आवश्यक सरकारी पुस्तक आइ सकेकाले चैत २४ गतेदेखि विक्री बितरण शुरु हुनेछ ।
सरकारी पाठ्यपुस्तक महासंघले संयुक्त रुपमा एउटा केन्द्रबाट विक्री बितरण गर्ने गरेको सचिव ध्रुवराज सुवेदीले बताए । उनका अनुसार राज्यले तोके अनुसारको ढुवानीलगायतको सुविधा सहित सहज तरिकाले पुस्तक विक्री वितरणको व्यवस्था मिलाइएको छ ।
इकाइले उपलब्ध गराएको तथ्याङ्क अनुसार बाल शिक्षामा एक हजार नौ सय छ, १ कक्षामा एक हजार चार सय ६४, २ मा एक हजार तीन सय ४५ जना, ३ कक्षामा एक हजार चार सय २ जना, चार कक्षामा एक हजारचार सय ६६ जना विद्यार्थी रहेका छन् । त्यसैगरी कक्षा ५ मा एक हजार पाँच सय २७, कक्षा ६ मा एक हजार छ सय १०, कक्षा सातमा एक हजार छ सय १ जना विद्यार्थी रहेका छन् ।
त्यस्तै कक्षा ८ मा एक हजार सात सय ८६, कक्षा ९ मा एक हजार सात सय ३२ र कक्षा १० मा एक हजार चार सय ९७ जना विद्यार्थीहरुले शैक्षिकसत्र २०८३ मा अध्ययन गर्नेछन् । नयाँ शैक्षिकसत्रमा बालशिक्षादेखि कक्षा १० सम्म कुल १७ हजार तीन सय ३६ विद्यार्थी रहेका छन् । उक्त संख्यामा रहेका विद्यार्थीहरुका लागि गत यस वर्ष १३ हजार दुई सय ४५ थान पुस्तक म्याग्दी आइ सकेको छ । गत वर्षको पुस्तक पनि मौजदात रहेकाले पुस्तक अभाव नहुने महासंघका अध्यक्ष शर्माले बताए ।





