म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा लागुपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको कार्यक्रममा क्याम्पसका करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रममा लागुपदार्थ सेवनले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक असरबारे विस्तृत रुपमा जानकारी गराइएको थियो । उक्त अवसरमा विशेषगरी लागुपदार्थको लतले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने, पारिवारिक सम्बन्ध बिगार्ने तथा सामाजिक प्रतिष्ठामा असर पार्ने भएकाले यस विषयमा सहभागीलाई सचेत गराइएको थियो ।
लागुपदार्थको ओसारपसार, कारोबार तथा सेवनमा नेपालमा लागू गरिएको कडा कानुनी प्रावधानबारे पनि जानकारी गराइएको थियो । कार्यक्रममार्फत लागुपदार्थ नियन्त्रणसम्बन्धी विद्यमान नेपाली कानुन, त्यस अन्तर्गत हुने कारबाही तथा सजायका विषयमा विद्यार्थीलाई प्रष्ट पार्ने प्रयास गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका कर्मचारी नविन पौडेल र लालचन्द्र थापाले लागुपदार्थसम्बन्धी सचेतना कार्यक्रममा सहजीकरण गरेका थिए ।
उनीहरूले लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सचेतना अभिवृद्धिमा जोड दिएका थिए । विद्यार्थीहरूमा लागुपदार्थविरुद्ध सचेतना फैलाउने तथा सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास सहित कार्यक्रम आयोजना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।





