पोखरा/कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरामा ‘पोखरा फ्लायर मास्टर च्याम्पियनसिप’ हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा विगत दुई दशकदेखी तालिम दिदैँ आइरहेको कान्तिपुरले आगामी शुक्रबार उक्त च्याम्पियनसिपको आयोजना गर्न लागेको हो ।
नेपाली बार टेन्डरहरुको कलात्मकता र प्राविधिक दक्षलाई प्रस्फुटन गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता गर्न लागेको सञ्चालक विजय पौडेलले जानकारी दिए । उनका अनुसार च्याम्पियनसिपमा नेपालभर रहेको चर्चित बारमा कार्यरत कर्मचारी हरुको समेत सहभागिता रहेको छ । होटल म्यानेजमेन्ट विषय अन्तरगत बारटेन्डर विषयका प्रशिक्षार्थीहरु बारमेनका रुपमा थप दक्ष हुने आशा आयोजकको रहेको छ । यसले व्यवसायिक तालिमलाई विश्वव्यापी रोजगारको बाटोको रुपमा स्थापित गर्न सक्ने पौडेलले बताए ।
यसले पोखरामा पर्यटकहरुलाई विहान दिउँसो र बेलुका इच्छा अनुसार संस्कार र स्वाद अनुसारको पेय पदार्थ पस्कन सक्ने उनले बताए ।
प्रतियोगितामा सहभागिहरुले ककटेल र मोक्टेल बनाउनेछन् । प्रतियोगितामा २ विधामा ४–४ चरण हुनेछन् । पोखरा ५ प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा हुने प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित प्याराग्लाइडिङ, गिफ्टह्याम्परसंगै ट्रफी प्राप्त गर्नेछ । दोस्रोले २५ हजार तथा तेस्रो र चौथो हुनेले समान १५ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट कक्टेल बनाउनले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट बोतल घुमाउने कला देखाउनेले समेत पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पोखरासहित काठमाडौं, बुटवल, इटहरी, चितवन लगायतका शहरबाट ३७ जनाको सहभागिता रहनेछ । कान्तिपुरले होटल म्यानेजमेन्ट सम्बन्धि ३ महिने र ६ महिने सिपमुलक तालिम सञ्चालन गर्दै आइरहेको छ । सिटिइभीटी बाट सम्बन्धन प्राप्त संस्थाले हालसम्म २८ हजारलाइृ तालिम दिइ सकेको छ ।






