स्याङ्जा/स्याङ्जा समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण धेरै ठाउँमा फरकफरक रहेको पाइन्छ ।कतै पछिल्लो समय महिलाहरू विभिन्न पेसा व्यवसायमार्फत् परिवारको आर्थिक जिम्मेवारी सम्हाल्दै आत्मनिर्भर बन्दै गएका उदाहरणहरू गाउँ–समाजमै देखिन थालेका छन् ।
स्याङजाको वालिङ नगरपालिका–१४ रैपाल गाउँकी यामकुमारी विश्वकर्मा यस्तै एक उदाहरणीय महिला हुन् ।
यहाँको रैपाला कि ४३ बर्षीय यामकुमारी विश्वकर्माले विगत २५ वर्षबाट बाँस र निगालोबाट बनाइने परम्परागत सामग्री डोको बुनेर आफ्नो परिवारको गुजारा चलाउँदै आएकी छन् ।
पहाडी क्षेत्रमा दैनिक जीवनमा अत्यन्त उपयोगी मानिने डोको विशेषगरी मल बोक्न, घाँस–दाउरा गर्न तथा अन्य कृषि कामका लागि प्रयोग गरिन्छ ।यामकुमारीले यही सीपलाई व्यवसायका रूपमा अगाडि बढाउदै छ जनाको परिवारलाई पाल्दै आएकी छन् ।
बाँस र निगालोबाटबाट बन्ने विभिन्न सामग्रीमध्ये उनलेमुख्य रूपमा डोको र थुन्से बुन्ने गर्छिन् । २०५८ साल असारमा विवाहभएसँगै घरमा आएर ससुरासँग डोका बुन्न सिकेको बताउदै विश्वकर्माले दिनमा साना ठूला गरेर छवटासम्म बुन्ने गरेको बताइन् ।
महिनामा करिब दुई सयभन्दा डोको तयार पारेर बिक्री हुने गरेको बताउँदै उनले डोकोको आकारअनुसार यसको मूल्य दुई सयदेखि छ सय रुपैयाँसम्म बेच्ने गरेकी छन् ।
श्रीमानले बाँस काटेर ल्याउने तथा चोया काड्नेकाम गर्ने बताउँदै विश्वकर्माले आफूले बिहानबाटै डोको तथा थुन्से बुन्ने गरेको सुनाइन् ।
श्रीमानसँगै चार छोराछोरीले पनि बिहान–साँझ डोको बुन्न, काप्रा हाल्न र पिध हाल्ने काममा सघाउने गरेको उनको भनाइ छ ।छोरा छोरी विद्यालय जाने समय बाहेक परिवारका सबै सदस्यहरू मिलेर काम गर्दा यसले परिवारको खर्च धान्न सहयोग पुगेको छ । उनले डोको बुनेरै घर नजिकै जग्गा किनेकी छन् भने परिवा पाल्ने र छोरा छोरी पठाउने काम यसै पेसाबाट गरेकी छन् ।
पछिल्लो समय बजारमा आयातित सामग्री बढेसँगै परम्परागत डोकोको माग केही घटेको भए पनि उचित बजार व्यवस्थापन हुन सके यहि पेसामै लाग्ने उनको भनाइ छ ।
यामकुमारीको मेहनत र लगनशीलता देखेर गाउँका अन्य स्थानीयहरू पनि डोको बुन्ने काममा आकर्षित हुन थालेका छन् ।





