सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अंशमुद्दाको किचलो, भान्जा नै हत्यारा !

अंशमुद्दाको किचलो, भान्जा नै हत्यारा !

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मामाघरमा रहेको पारिवारिक बेमेल र सम्पत्तिको लोभमा निज शिशिरले माइजू केसीको विभत्स हत्या गरेको स्वीकार गरे पनि बाँकी अनुसन्धान गर्न बाँकी छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

पोखरा/बुधबार साँझ पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोकको शिवालयचोकमा भएको हत्यामा आफ्नै भाञ्जा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

४२ वर्षीय माइजू सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार गरी हत्या गर्ने नाताले भाञ्जा पर्ने सन्तोष भन्ने २७ वर्षीय शिशिर केसीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । उनको स्थायी घर चाहिँ पर्वतको कुश्मा नगरपालिका ११, सिल्मी हो । उनी पोखराको वडा नम्बर ६ मै भाडामा बस्थे । लागुऔषधका प्रयोगकर्ता उनी २०८० सालतिर उनी अभ्रद व्यवहार मुद्दामा पक्राउ परेका थिए ।

२०८२ साल असारमा चाहिँ उनीविरुद्ध बैदाम प्रहरीले चोरी डाँका कसूरमा उनीमाथि कारवाही गरेको थियो । साउन फेरि उनले लेखनाथ क्षेत्रमा चोरी तथा डाँका कसूर नै गरेपछि इलाका प्रहरी कार्यालय शिशुवाले पक्राउ गरी कारवाही गरेको थियो । कुशललाई पोखरा १७, रातोपैह्रो बस्ने ३२ वर्षीय कुशल परियारले हत्याको समयमा साथ दिएको प्रहरीको भनाइ छ । कुशलले ग २५ प ३९४४ नम्बर स्कुटर चलाएका थिए भने पछाडि बसेका शिशिरले अध्याँरो बाटोमा खुँडाले सिर्जनामाथि प्रहार गरेका थिए । कुशल पनि लागुऔषधको दुव्र्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि उनीहरुले खुँडा पोखरा १६ को तीतेपानी जंगलमा लगेर फालेका थिए भने स्कुटर पोखराको राष्ट्रबैंकचोकतिर राखेका थिए । शिशिर चाहिँ सोही साँझ पोखराबाट बस चढेर बुटवल पुगेका थिए ।

‘उसले (अभियुक्त) पोखराबाट सार्वजनिक बस चढेर नै उता गएको भन्ने बयान दिएको छ । लागुऔषध प्रयोगकर्ता भएकाले उसको उतातिर पनि साथी भएको र लुक्ने उद्देश्य भएको सुरुको अनुसन्धानमा देखिएको छ । हामीले उसलाई रुपन्देही जिल्ला बुटबल नगरपालिका वडा नम्बर २ मनकामना टोलमा लुकेर बसेको अवस्थामा भैरहवा प्रहरीसँगको समन्वयमा पक्राउ गरेका हौँ भने कुशल चाहिँ यहीँ पक्राउ परेको हो,’ एसपी कार्कीले पत्रकार सम्मेलनमा भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्पत्ति विवाद नै देखिन्छ । अरु कुरा अझै अनुसन्धानमा खुल्ला ।’

घटना घटाउनुअघि अभियुक्तहरुले सिर्जनाको पृथ्वीचोकको पसल, उनी हिँडडुल गर्ने बाटो तथा समय र साँघुरो गल्लीलगायतका कुराहरुको अन्दाज गरिसकेको घटनाक्रमले पुष्टि गरेको छ । अभियुक्त शिशिर र कृष्णको कारागारमा रहेका लागुऔषध दुव्र्यसनी छोराबीचको सम्बन्ध तथा मिलेमतोबारे प्रहरीले थप अनुसन्धान गर्दैछ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीसहित वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराई नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले सुरुमै हत्यामा परिवारको संलग्नता हुनसक्ने लख काटेसँगै सो परिवारमा अंशमुद्दा रहेको थाहा पायो । २ वर्षअघि पति कृष्णका निधन भएपछि जेठीतर्फका सन्तान र सिर्जनाबीच अंशबारे विवाद बढेको थियो । त्यही विवादका बीच सिर्जनाले कास्की जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा कास्की जिल्ला अदालतले बकसपत्रसम्बन्धी कागजात भएकाले सिर्जनाकै पक्षमा फैसला गरेको थियो । सिर्जना पोखराको पृथ्थीचोकमा जुत्ता पसल चलाउँथिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मामाघरमा रहेको पारिवारिक बेमेल र सम्पत्तिको लोभमा निज शिशिरले माइजू केसीको विभत्स हत्या गरेको स्वीकार गरे पनि बाँकी अनुसन्धान गर्न बाँकी छ ।

घटना विवरण अनुसार पोखरा ५, मालेपाटन (जिरोकिलोमिटर) मा खसी काट्ने तथा रेष्टुराँ व्यवसाय गर्दै आएका ‘खसीकृष्णे’ भन्ने कृष्ण केसीले करिब ९ वर्षअघि तनहुँकी सिर्जना पौडेलसँग दोस्रो बिहे गरेका थिए । खसीको मासुको लागि चर्चित ‘खसीकृष्णे’का जेठीतर्फ २ छोरी र एक छोरा थिए । जेठी श्रीमतीले विषसेवन गरी आत्महत्या गरेपछि कृष्णले दोस्रो घरजम गरेका थिए । पोखराको लेकसाइडको सेदी भन्ने ठाउँ र मालेपाटनमै घर जोडेका कृष्णको जेठीपट्टिका परिवार मालेपाटनमा बस्थे भने कान्छी सिर्जना सेदीमा बस्थिन । विहेपछि सिर्जनातर्फ पनि एक छोरीको जन्म भयो । २ वर्षअघि कृष्णको निधन भएपछि चाहिँ उनीहरुबीच सम्पत्ति बाँडफाँडको मुद्दाले विवाद जन्मायो । अहिलेको घटना पारिवारिक बेमेलबाटै उत्पन्न भएको प्रहरीको निश्कर्ष रहेको छ ।

घटनामा संलग्नलाई पक्राउ गरेपछि त्यहाँ सिर्जनाका माइतीपट्टिका आफन्तहरुको बाक्लो भीड थियो । सोही उपक्रममा भेटिएका सिर्जनाका माइतीपट्टिका एक आफन्तले भने, ‘अंश मुद्दा थियो, अघिल्लो श्रीमतीतिरकाहरुले पटक–पटक धम्की दिँदै आएका थिए । उनीहरुले आमाछोरी दुबैको हत्या गर्ने योजना बुनेको हुनुपर्छ तर भाग्यले भाञ्जी बाँचिन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->